जादूगर !
प्रा. खगेन्द्रप्रसाद भट्टराईभीड एकै चोटि शान्त भयो । कोही हलचल गर्दैनन् । टसमस छैन । स्वास फेर्दा पनि अरुले सुन्छन् कि भन्ने डर देखियो । मुटु रोकिन्छ कि जस्तो !
वि.सं. २०३१ सालमा म त्रिचन्द्र कलेजमा स्नातक तहमा पढ्दै थिएँ । मेरो बसाई चाहिं ललितपुरको कुपण्डोलमा थियो । कुपण्डोलबाट बस चढेर कलेजको उत्तरतिरको गेट गरीवदासको विश्वज्योति सिनेमा हल अगाडि ओर्लन्थें । पाटन ढोकाको बसको स्टप थियो त्यो । त्यसै गरी कलेज जाने आउने गर्दथें । समय बित्दै जाँदा आफ्नै क्लासमा पढ्ने एक जना साथी पनि कुपण्डोलबाट कलेज आउने थाहा भयो । उहाँको नाम राम प्रसाद रुपाखेती थियो । उहाँको चाहिं बस चढ्ने भन्दा हिंड्ने बानी रहेछ । संगतले मेरो पनि हिंड्ने बानी बस्यो । हामी दुवै जना समय मिलाएर एकै साथ कलेज जान्थ्यौं र सँगै फर्किन्थ्यौं । यो बानीले राम्रो गर्यो । खेलकुद केही थिएन । व्यायाम गरिंदैन थियो । स्कूलमा हुँदाको भलीबल खेल्ने कुरा पनि छुटिसकेको थियो ।
रामजी र म धेरै जसो सँगै हुन्थ्यौं । तर कहिलेकांही कारणवश एक्लै पनि कलेज जानुपर्दथ्यो । एक दिन म एक्लै परें । कलेजबाट फर्किंदै थिएँ । शहीद गेटको छेउमा ठूलो भीड देखें । के रहेछ भनेर हेर्दा एक जना भारतीयले आफ्नो टिमका साथीहरुसँग जादू देखाइरहेको रहेछ । ऊ वाकपटु थियो । बोलीले सबैलाई लट्ठ पारिरहेको । म पनि भीडमा सामेल भएँ र उसको कुरालाई ध्यान दिएर सुन्न लागें । उसले एउटा लोटा हातमा लिएर त्यसलाई देखाउँदै त्यो रित्तो भएको जानकारी गरायो । थप विश्वास दिलाउन रमितेमध्ये एक जनालाई लोटाभित्र हात हाल्न लगाएर केही नभएको प्रमाणित गर्यो । त्यसपछि ‘ल हेर्नोस्, यहाँबाट परेवा निस्कन्छ’ भन्यो र लोटा हावामा हल्लायो । रित्तो लोटाबाट परेवा भुर्र उडेर गयो । सबै छक्क परे ।
त्यसपछि रमितेमध्येको एक जना १४/१५ वर्षको केटालाई ‘बाबु, तिमीलाई केटी बनाइदिउँ’ भन्यो । केटो चलाख देखिन्थ्यो । फुर्तिलो थियो । उसलाई जादूगरले केटी बनाउन सक्तछ भन्ने कुरामा विश्वास थिएन । त्यसैले ‘हुन्छ’ भन्यो । एक छिनपछि उसले केटालाई ‘तिमी केटी भयौ’ भन्यो । केटाले विश्वास गरेन । उसले ‘तिम्रो लिंग छामेर हेर’ भन्यो । छाम्दा साँच्चै केटो त केटी भैसकेको रहेछ । विचरा केटो आत्तिएर रुन थाल्यो । बेहोस होलाजस्तो भयो । अरु हाँस्न थाले । केही बेर केटो रोएपछि जादुगरले ‘बाबु, रुनुपर्दैन, म फेरि केटै बनाइदिन्छु’ भन्यो । उत्तेजित भीडलाई हेर्दै जादुगरले उसलाई अब तिमी फेरि ‘केटै’ भयौ भन्यो । केटाले आफ्नो लिंग छाम्यो र खुशीले दङ्ग भएर हाँस्न थाल्यो । हामी सबै हाँस्यौं । सबै आनन्दित भयौं । रोमाञ्चित भयौं ।
जादूगरले यस्तै धेरै जादू देखाएपछि ‘म अब अन्तिम खेल देखाउँदै छु’ भन्यो । उसको टीमको एक जना १५/१६ वर्षको केटालाई कपडाले बेरेर भुईमा सुतायो । केटो लमतन्न परेर सुत्यो । जादुगरले हातमा धारिलो चुप्पी लियो र त्यो सुतेको केटाको घाँटीमा त्यही चुप्पीले रेट्यो । घाँटीबाट रगत आयो । मुखबाट रगत र फिंज आयो । केटो भट्याकभट्याक गरिरहेको थियो, छट्पटाइरहेको थियो । दृश्य भयावह देखिन्थ्यो । केटालाई त्यही अवस्थामा छोडेर जादूगरले टीमको अर्को साथीलाई तन्नाको एउटा फेर समात्न लगायो र आफूले अर्को फेर समातेर त्यो ठूलो भीडलाई भन्यो, ‘हेर्नोस् मेरो भाइ मर्ने र बाँच्ने दोसाँधमा छ, भगवानको नाउँमा उसको उपचारको लागि एक एक रुपैयाँ दिनोस् । तन्ना फैलाएर दुवै जना विस्तारै चारैतिर घुमे । मुश्किलले ५/६ रुपियाँ खस्यो होला । मलाई के लाग्यो, विद्यार्थी नै भए पनि एक रुपियाँ राखिदिएँ । एक रुपियाँको पनि त्यति बेला ठूलो महत्व थियो । एक रुपियाँमा करीब ५/६ दाना सुन्तला पाइन्थ्यो ।
पैसा धेरै कम झरेपछि जादूगरले फेरि पहिलेको जस्तो नरम भएर अनुरोध गर्यो । २/४ रुपियाँ थपियो । उसले आफूले देखाएको जादूको मूल्य नपाएको अनुभव गर्यो । दोस्रो चोटिको अनुरोधलाई पनि मानिसले राम्रो नसुनेपछि उसको स्वर परिवर्तन भयो । उसले कड्केर बोल्न थाल्यो, “जोसँग एक रुपियाँ पनि छैन, दिनु पर्दैन र जसले भएर पनि दिंदैन उसलाई म अब त्यही भाइको अवस्थामा पुर्याइदिन्छु । यहाँबाट नभाग्नु होला । हलचल नगर्नुहोला । पैसा भएर पनि नदिने आज घर पुग्दैन । भगवानको नाउँमा उपचारको लागि माग्दा नदिने बच्तैन ।” बोली आवेशपूणर् थियो । आक्रोश थियो । अब भीड अचानक शान्त भयो । रमितेहरु भयभित भए । सबैको मुटु ढुकढुक भयो, धड्कन बढ्यो – त्रास छ, हलचल छैन ।
तन्ना लिएर उनीहरु फेरि चारैतिर घुमे । रुपियाँको वर्षा भयो । करीब तन्ना भरियो । जादूगरले पैसा समेटेर राख्यो । बारम्बार त्यहाँबाट भीडलाई नहिंड्न, हलचल नगर्न उसले धम्कीपूर्ण भाषामा भनिरहेको छ । डरले भीड शान्त छ । अब जादूगर फेरि भन्छ, ‘जोसँग रुपियाँ छैन, मोहर दिनोस् । जसले भएर पनि दिंदैन उसलाई म मेरो भाइको अवस्थामा पुर्याइदिन्छु ” भाइको मुखबाट र घाँटीबाट रगत बगिरहेको थियो । उ छट्पटाइरहेको थियो । पीडाको आवाज व्यक्त गरिराखेको थियो । फेरि उनीहरु तन्ना लिएर घुमे । पैसाको वर्षा भयो । जादूगरले पैसा समेटेर राख्यो । त्यसपछि उसले त्यसै गरी सुका झार्यो ।
अन्त्यमा जादूगरले छट्पटाइरहेको भाइलाई देखाउँदै भन्यो, ‘‘मैले यस्तो अवस्थाको भाइको उपचारको लागि भगवानको नाउँमा सहयोग गर्नुहोस् भन्दा तपाईंहरुबाट अपवाद बाहेक केही पाइन । त्यसैले मैले तपाईहरुलाई तर्साउनुपर्यो, धम्काउनुपर्यो । तर हेर्नोस्, म तपाईंहरुको एउटा रौं पनि झार्न सक्दिन । म एक भारतीय नागरिक हुँ । मैले तपाईंहरुलाई केही नराम्रो गरें भने, पुलिसले मलाई समात्छ ।” जादूगरले यति भनेपछि आफ्नो भाइलाई उठ्नु भन्यो र उ उठ्यो । उसलाई केही पनि भएको थिएन । खेल सकियो । सबै आफ्नो बाटो लागे ।