सुशासन र समृद्धिको पक्षमा रास्वपा अझै बलियो हुँदैछ

निशा डाँगी

हिजो सम्पन्न केन्द्रीय समितिको बैठकपछि हामीलाई देशभरिबाट चासो र चिन्ता प्रकट भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी गठन भएको दुई वर्ष मात्रै बित्दै गर्दा पार्टीमा ठूलै सङ्कट नै आउन लागेको हो कि भन्ने किसिमले शुभचिन्तक तथा सम्पूर्ण नेपाली नागरिकले चासोका साथ हेर्नुभएको छ ।

हामी सबैलाई सर्वविदितै छ – हाम्रो पार्टी लोकतन्त्र र विधीको शासनमा विश्वास गर्ने पार्टी हो । बहस, छलफल, स्वस्थ आलोचना, फरक मत र मतभेदबाट नै समुन्नत विचार र दिशाको निर्माण हुनेगर्छ । कुनै दलमा बहस छलफल नै नहुने र सबैको एकै मत हुने अवस्था आयो भने त्यो दल राजनीतिक दल नै रहँदैन । हामीले गम्भीर राजनीतिक प्रतिवेदनहरू पेश भएका, छलफल भएका र आलोचना भएका उदाहरणहरू अन्य राजनीतिक पार्टीमा पनि देखकै छौँ । लोकतान्त्रिक समाजमा फरक मतले राजनीतिक पार्टीमा प्राण भर्ने काम गर्छ ।

यसै परिवेशमा पार्टी महामन्त्री मुकुल ढकालले ईलाम उपनिर्वाचनपश्चात देशभर समीक्षा यात्रा गरेर तयार गर्नुभएको समीक्षा प्रतिवेदनमाथि केन्द्रीय समितिमा विभिन्न मतहरू आएका छन् । उक्त प्रतिवेदनमा कतिपय विषयहरू जस्तै पार्टीको अबको यात्रा के हुने, अबको चरित्र के हुने लगायतका गम्भीर दार्शनिक प्रश्नहरू उठाइएको छ, जसमाथि पार्टीले घनीभूत छलफल गर्न आवश्यक छ । प्रतिवेदनमा रहेका केही विषयमा कसैको सहमति र अन्य केही विषयमा कसैको असहमति रहेका छन् ।

प्रतिवेदनमा सहमति वा असहमति हुँदाहुँदै पनि महामन्त्रीको व्यक्तिगत व्यवहारप्रति आपत्ति जनाउँदै केन्द्रीय समितिले उहाँलाई निलम्बन गर्ने निर्णय गरेको छ । उहाँको प्रतिवेदन र उहाँलाई गरिएको कारबाही दुई फरक विषय हुन् । प्रतिवेदनले हाम्रो राजनीतिक नेतृत्व देखि आम नेता कार्यकर्ता सबैलाई गम्भीर हुनका लागि झक्झक्याएको छ । कारबाहीको निर्णयले पार्टी अनुशासन पालना नगरेमा महामन्त्रीलाई पनि छुट नहुने लोकतान्त्रिक सन्देश दिएको छ ।

तसर्थ, यो बैठकपछि राष्ट्रिय स्वतन्त्र पार्टी अझ सबल र सुदृढ भएर अगाडि बढ्ने हाम्रो विश्वास छ । संस्कृतमा एउटा उक्ति छ – वादे वादे जायते तत्त्ववोध: । अर्थात्, बहस र वादविवादबाट नै तत्त्व वोध हुनसक्छ । यस बहसले हामीलाई अझ समुन्नत र परिष्कृत बनाउनेछ । सुशासन र समृद्धिको पक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी अझ बलियो भएर उभिनेछ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय