रास्वपाका मन्त्रीहरुले राजीनामा दिँदै

काठमाडौं, २० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मन्त्री रहेका चार सांसदले मन्त्री पदबाट राजीनामा दिने तयारी गरेका छन् । हालको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा रहेका रास्वपका मन्त्रीहरुले आज राजीनामा बुझाउन लागेका हुन् ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, श्रममन्त्री डोलप्रसाद अर्याल, शिक्षामन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले राजीनामा दिन लागेको रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले जनाएका छन् ।
बुधबार नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै प्रचण्ड सरकार अल्पमतमा परिसकेको छ । एमालेका मन्त्रीहरूले पनि सामूहिक राजीनामा दिइसकेका छन्।
नेकपा माओवादी केन्द्रसँगको गठबन्धन तोडेर नेकपा एमालेले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग सत्ता सहकार्य गर्ने सहमति गरेपछि सरकार परिवर्तन हुन लागेको हो।

