बिबिए कप क्रिकेटमा आज सेमिफाइनलका खेलहरु हुँदै
काठमाडौं, २२ असार । त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेपालभरीबाट बिबिए अध्यापन गर्ने कलेजहरु सम्मिलित टियु बिबिए कप क्रिकेटअन्तर्गत सेमिफाइनलका खेलहरु आज हुँदै छन् ।
पहिलो सेमिफाइनलमा विहान ८ बजे आयोजक तथा डिफेन्डिङ च्याम्पियन पब्लिक युथ क्याम्पस (पीवाइसी) र नेपाल कमर्स क्याम्पस (एनसिसी) खेल्ने छन् । त्यस्तै दोस्रो सेमिफाइनलमा दिउँसो १२ बजे काठमाडौं मोडल कलेज र केसि एमआइटी खेल्ने छन् । आजका खेलको विजेताले उपाधिका लागि शनिबार खेल्ने छन् ।
प्रतियोगिताको उपाधि विजेता टोलीले ९० हजार रुपैयाँ नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ४० हजार रुपैयाँ नगद, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
असार १२ गतेदेखि सुरु भएको प्रतियोगितामा २२ टोलीको सहभागिता थियो । झापाको मेची बहुमुखी क्याम्पस र काठमाडौंकै मोर्डन नेपाल कलेजले पहिलोपटक सहभागिता जनाएका थिए । प्रतियोगिताका सम्पुर्ण खेलहरु काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका स्थित तल्लो मुलपानी क्रिकेट मैदानमा सञ्चालन भइरहेका छन् ।