युरोकप २०२४ को क्वाटरफाइनल समीकरण पूरा
काठमाडौं, १८ असार । टर्की र नेदरल्यान्ड्स जारी युरोकप फुटबल २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेका छन् । मङ्गलबार भएको अन्तिम १६ को खेलमा टर्कीले अस्ट्रिया र नेदरल्यान्ड्सले रोमानियालाई हराएका हुन् ।
टर्कीले अस्ट्रियालाई २-१ गोलअन्तरले हरायो । खेलको पहिलो मिनेटमा नै मेरी डेमिराईले गोल गर्दै टर्कीलाई अग्रता दिलाएका थिए । त्यसपछि उनले ५९औं मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । ६६औं मिनेटमा माइकल ग्रेगोरिचले अस्ट्रियाका लागि सान्त्वना गोल फर्काए ।
उता नेदरल्यान्ड्सले भने रोमानियालाई ३-० गोलले हरायो । नेदरल्यान्ड्सको जीतमा डोनियल मालेनले २ गोल गर्दा कोडी गाक्पोले एक गोल गरे । खेलको २०औं मिनेटमा गाकपोको गो मार्फत डच टोलीले अग्रता लिएको थियो । त्यसपछि खेलको अन्त्यतिर ८३औं मिनेटमा मालेनले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । इन्जुरी समयमा व्यक्तिगत दोस्रो गोल गर्दै मालेनले टोलीको ३-० को जीत पक्का गरे ।
यस खेलसँगै क्वाटरफाइनल समीकरण पनि पुरा भएको छ । अब क्वाटरफाइनलमा नेदरल्यान्ड्सले टर्कीसँग खेल्ने छ । अन्य क्वाटरफाइनल खेलहरुमा स्पेन र जर्मनी, पोर्चुगल र फ्रान्स तथा इंग्ल्यान्ड र स्वीट्जरल्यान्ड खेल्ने छन् ।