रोल्पा जीप दु्र्घटना अपडेट: सातजनाको मृत्यु, चालकसहित आठ घाइते
रोल्पा, १८ असार । रोल्पामा सोमबार बेलुका भएको जीप दुर्घटनामा परी सातजनाको मृत्यु भएको छ । जीपमा सवार १५ जना यात्रुमध्ये ७ जनाको मृत्यु भएको हो । चालकसहित ८ जना घाइते छन् ।
रोल्पाको घर्तिगाउँबाट तालाबाङतर्फ गइरहेको लु १ ज ३२५२ नम्बरको यात्रुवाहक जीप बुढागाउँ भन्ने ठाउँमा दुर्घटनामा परेको थियो । जीप दुर्घटनाको खबर पाएलगत्तै घर्तीगाउँ प्रहरी चौकीको टोली पुगेर घाइतेहरूको उद्धार गरी अस्पताल पठाइएको थियो ।
सोही समयमा नै केही हताहती भएको अनुमान गरिसकिएको थियो । गम्भीर घाइते भएको भनिएका ७ मध्ये ५ जनाको घटनास्थलमै ज्यान गइसकेको थियो भने २ जनाको अस्पतालमा ज्यान गएको हो ।
बाटोमा पहिरो खसेको देखेपछि थोरै ब्याक गर्ने क्रममा जीप सडकबाट करिब ४०० मिटर तल खसेको स्थानीयले बताएका छन् ।