रोल्पामा जीप दुर्घटना हुँदा ११ जना घाइते, केहीको अवस्था गम्भीर

रोल्पा, १७ असार । रोल्पामा जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । रोल्पाको घर्तिगाउँबाट तालाबाङतर्फ गइरहेको लु १ ज ३२५२ नम्बरको यात्रुवाहक जीप बुढागाउँ भन्ने ठाउँमा दुर्घटनामा परेको हो ।
प्रमुख जिल्ला अधिकारी खिम बहादुर रायमाझीका अनुसार जीप दुर्घटनाको खबर पाएलगत्तै घर्तीगाउँ प्रहरी चौकीको टोली पुगेर घाइतेहरूको उद्धार गरी अस्पताल पठाइएको छ ।
दुर्घटनामा परेका केहीको अवस्था गम्भीर रहेको स्थानीयले बताएका छन् । पहिरो खसेको देखेपछि थोरै ब्याक गर्ने क्रममा जीप सडकबाट करिब ४०० मिटर तल खसेको स्थानीयले बताएका छन् ।
घटनाबारे थप विस्तृत विवरण आउन बाँकी छ ।

