बिषादी प्रयोग गरेर पकाइएको ५ हजार ७ सय किलो आँप नष्ट
काठमाडौं ।विषादी राखी पकाएको ५ हजार ७ सय ८० किलो आँप खाद्यद्वारा नष्ट गरिएको छ।प्रतिबन्धित रसायन (कार्बाइड) राखी पकाइएको उक्त आँप नष्ट गरिएको हो।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको धनगढी कार्यालयले उक्त परिमाणको विषादीयुक्त आँप नष्ट गरेको जनाएको छ।कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका वडा नम्बर-४ मा विषादीयुक्त आँप विक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा पुगेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको धनगढी कार्यालयबाट खटिएको खाद्य अनुसन्धानको टोलीले उक्त परिमाणको विषादीयुक्त आँप नष्ट गरेको थियो।
भिमदत्त नगरपालिका वडा नम्बर ४ को गल्ली नम्बर ३ मा रहेको बालाजी फ्रुट सेन्टरको फलफुल गोदाममा कार्बाइड राखेर आँप पकाइएको पाइएपछि अनुगमन टोलीले नियन्त्रणमा लिई नष्ट गराएको हो । अनुगमन टोलीले गत असार १३ गते फ्रुट सेन्टरको गोदाममा रहेको २० किलोग्राम भएको कार्टुनको २८९ कार्टुन आँपमा कैफियत पाएको थियो । भारत लगायतका स्थानबाट काँचो आँप ल्याएर पत्रिकामा प्रतिबन्धित रसायन कार्बाइड बेरेर क्रेटमा राखेको पाइएको थियो । कार्बाइड जस्तै देखिने प्रतिबन्धित रसायन प्रयोग भएको पाइएपछि विभागको धनगढीस्थित कार्यालयले असार १३ गते नै उक्त गोदाम स्थानीय जनप्रतिनिधि र प्रहरीको रोहबरमा सिल गरेको थियो ।
त्यसलगत्तै भएको ल्याब टेष्टपछि उक्त धूलो वा पाउडर कार्बाइड भएको पुष्टि भई आँप खान अयोग्य भएको पाइएपछि कुल २८९ कार्टुनको ५ हजार ७ सय ८० किलोग्राम बराबरको आँप स्थानीय प्रतिनिधि, प्रहरी प्रशासन, पत्रकार, उपभोक्ता आदिको रोहबरमा नष्ट गरिएको हो ।