मनसुन सक्रिय हुँदा ३४ जिल्लामा ‘रेड अलर्ट’ जारी, सतर्कता अपनाउन अनुरोध

काठमाडौं, १७ असार । जल तथा मौसम विज्ञान विभागले मनसुन सक्रिय हुँदै गएर विभिन्न स्थानमा भारी वर्षा हुन थालेकाले ३४ जिल्ला अति प्रभावित हुन सक्ने जनाउँदै सतर्क रहन अनुरोध गरेको छ । विभागले विशेष बुलेटिन जारी गर्दै असार १७ गतेदेखि २० गतेसम्म धेरै भारी वर्षा हुनसक्ने भन्दै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका ३४ जिल्लामा रेड अलर्ट जारी गरेको छ ।
रेड अलर्टले धेरै जोखिम छ भनेर संकेत गर्दछ र त्यसबाट बच्न आवश्यक कार्यहरु गर्नुपर्ने भनेर जनाउँछ । यसरी अति जोखिम भनेर संकेत गरिएका जिल्लाहरुमा कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, मोरङ, झापा, सुनसरी, इलाम, धनकुटा, भोजपु्र, खोटाङ, सोलुखुम्बु र ओखलढुंगा छन् ।
यसैगरी बागमती प्रदेशका मकवानपुर, चितवन, सिन्धुपाल्चोक र दोलखा जिल्लामा रेड अलर्ट जारी भएको छ भने गण्डकीका म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व र लमजुङमा रेड अलर्ट जारी भएको छ । लुम्बिनी प्रदेशका कपिलवस्तु, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठान, नवलपरासी पश्चिम, रोल्पा र रुकुम पूर्व पनि अति जोखिमको संकेत स्वरुप रेड अलर्टको सूचीमा परेका छन् ।
२६ जिल्लामा मध्यम जोखिमको सम्भावनाको रहेको संकेत गर्दै यलो अलर्ट जारी गरिएको छ । काठमाडौं उपत्यकालाई भने हाललाई कम जोखिम भएको सूचीमा समावेश गरिएको छ ।
विभागका मौसमविदहरुका अनुसार असार १७ गते सोमबारदेखि असार २० गते बिहीबारसम्म पनि देशभर साधारणतयादेखि पूर्णतया बदली रही देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । साथै कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

