बालकोटको बार्दलीमा ओली बा र देउवाको ३ घन्टा !

काठमाडौं, १६ असार । असार १५ को धान रोपाइँ चल्दै थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रोपाइँकै लागि चितवनमा थिए। उपप्रधानमन्त्री रवि लामिछाने पनि चितवन मै व्यस्त थिए। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पार्टी महाधिवेशनको तयारीमा व्यस्त थिए । तर, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने एकाएक ओली निवास बालकोटको बार्दलीमा भेटिए।
यी दुई बीचको भेटवार्ताले प्रचण्डदेखि माधव र रविको मस्तिष्क हलाइदिएको छ। सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलको मुख्य नेतृत्व ओली र देउवा असार १५ मनाउन र दही च्युरा खान बालकोटमा भेटिएका अवस्य होइनन् । त्यसमाथी संगै देउवा पत्नी आरजु राणा समेत देखिएकी थिइन् । यो भेट कति रहस्यमयी छ भन्ने कुराको भेद खुल्न समय लाग्ला तर,सत्ता गठबन्धनमा अर्को उथलपुथल हुने संभावनालाई भने नकार्न मिल्दैन। पछिल्लो समय चर्चामा रहेको विषय भनेको कांग्रेस-एमाले गठबन्धन हुनुपर्छ र स्थायी रुपमा सरकार चलाउनुपर्छ भन्ने हो।
बालकोटमा दिउँसो २ बजेदेखि अपराह्न ५ बजेसम्म देउवा र ओलीबीच भएको छलफलमा समसामयिक राजनीति,सत्ता गठबन्धन भित्रका मसिना कुरा,माओवादी अध्यक्ष समेत रहेका प्रचण्ड र गृहमन्त्री लामिछानेका गतिविधिमा समेत चर्चा भएको बुझिएको छ।
कांग्रेस र एमालेबिच सत्ता सहकार्यको चर्चा भइरहेका बेला ओली र देउवाबिच भएको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । फागुन २१ मा सत्ता विमुख भएको कांग्रेसले सत्तामा फर्किन एमाले र माओवादीसँग दोस्रो तहका नेतामार्फत पछिल्लो समय दोहोरो संवाद गरिरहेको थियो । कांग्रेसले सत्तामा फर्किन यसपटक राम्रै कसरत गरिरहेको छ।ओली र देउवा झण्डै डेढ बर्ष पछि यति लामो छलफलमा जुटेका हुन् ।
स्रोतका अनुसार गृहमन्त्री लामिछानेलाई बोकेर हिंड्दा एमालेलाई नै ०८४ मा असर पुग्ने र माओवादीलाई बोक्नै नहुने नेताकार्यकर्ताको सुझावपछि ओली पनि कांग्रेससँगै मिलेर अघि बढ्ने मुडम देखिएका छन् । यदि पछिल्लो खबर सत्य भएमा सत्ता गठबन्धन फेरिने र एमालेले प्रधानमन्त्री लिएर कांग्रेसलाई १५ मन्त्रालय दिने तयारी छ।त्यसो हुँदा देउवाले १५ जना मन्त्री बनाउने अवस्थामा पार्टी भित्रको सन्तुलन समेत मिल्ने देखिन्छ।
पहिलो कुरो नेपाली कांग्रेसलाई सत्तामा फर्किनुछ। एमालेलाई माओवादी र एकीकृत समाजवादी पन्छाउनु छ। कांग्रेस र एमाले दुबैलाई रवि लामिछानेको गतिविधिमा ब्रेक लगाउनु पनि छ। गिरिबन्धु टिस्टेट,भुटानी शरणार्थी,सहकारी ठगी र बालमन्दिर जग्गामा आफ्ना कोहि पनि नपरुन भन्ने पनि यी दुई पार्टीलाई लागेको छ। त्यसैले सत्ताको स्वाद पनि हुने र कुनै काण्डमा दोषी पनि नहुनेगरि नयाँ गठबन्धनको यो रहस्यमयी अभ्यासको नतिजा कुर्न एक साता धैर्य गर्नैपर्छ ।

