टी-२० विश्वकपको फाइनल आज, दक्षिण अफ्रिका इतिहास रच्ने दाउमा

काठमाडौं, १५ असार । आइसिसी टी-२० विश्वकप क्रिकेटको फाइनल खेल आज हुँदै छ । उपाधिका लागि प्रतियोगिताभर अपराजित रहेका दुई टोली भारत र दक्षिण अफ्रिका खेल्दै छन् । क्यारेबियाको बार्बडोसमा हुने खेल नेपाली समय अनुसार बेलुका सवा ८ बजेदेखि सुरु हुने छ ।
दक्षिण अफ्रिकाले सेमिफाइनलमा अफगानिस्तानलाई हराएर फाइनलमा स्थान बनाएको थियो भने भारतले इंग्ल्यान्डको चूनौति समाप्त पार्दै फाइनल प्रवेश गरेको थियो । दक्षिण अफ्रिकाले विश्वकप इतिहासमै पहिलोपटक फाइनल खेल्दै छ । भारत १० वर्षपछि टी-२० विश्वकपको फाइनलमा पुगेको हो ।
दक्षिण अफ्रिकाका कप्तान एइडेन मार्क्रमले आफ्नो कप्तानीमा भएका कुनै पनि विश्वकप खेल हारेका छैनन् । उनले दक्षिण अफ्रिकालाई सन् २०१४ को यु-१९ विश्वकप जिताएका छन् भने २०२३ को एकदिवसीय विश्वकपमा उनको कप्तानीमा दक्षिण अफ्रिकाले सबै खेल जित्यो । अहिलेको टी-२० विश्वकपमा पनि मार्क्रमकै कप्तानीमा दक्षिण अफ्रिका अपराजित छ ।
मार्क्रमले आजको फाइनल खेल जितेर दक्षिण अफ्रिकालाई पहिलोपटक सिनियर तहको आइसिसी उपाधि दिलाउन चाहन्छन् । उता भारतको कप्तान रोहित शर्माले पनि आफ्नो कप्तानीमा पहिलो र सम्भावतः अन्तिम आइसिसी उपाधि जित्ने सोचमा हुने छन् ।

