माओवादीसँग आधा दर्जन कम्युनिस्ट पार्टीको एकता हुँदै

काठमाडौं, ८ असार । हाल अस्तित्वमा रहेका तर,जनतामा खासै प्रभाव नभएका झण्डै आधा दर्जन कम्युनिष्ट घटकहरुले माओवादीसँग वृहत एकता गर्ने तयारी गरेका छन् ।
माओवादीबाटै अलग भएको नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र पुर्व प्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा रहेको नेकपा एकीकृत समाजवादी देखि अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी सम्मले एकतामा चासो दिएका छन् ।
यसैगरी बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले कारबाही गरेको महेन्द्र राय यादवको समुह र मोहन बैद्द नेतृत्वको नेकपा क्रान्तिकारी र राष्ट्रिय जनमोर्चाबाट बिद्रोह गरेको समुह पनि एकताको पक्षमा रहेको बुझिएको छ।एकताको लागि छलफल भएपनी कहिले र कुन मोडलमा एकता हुने भन्ने टुंगो लागेको छैन ।यद्यपि नेसपाले कारबाही गरेको महेन्द्र यादव र गङ्गा नारायण श्रेष्ठको समुहले भने छिटो एकता चाहेको छ।
माओवादी चुनाव चिन्ह लिएर चुनाव जितेका यादव र श्रेष्ठ हाल पार्टी बिहिन अवस्थामा छन् । उनीहरुको नाम नेसपाको अभिलेख मै छैन। नेसपाबाट निकालीएका र माओवादीले नभित्राइ सकेको अवस्थामा रहेका यी नेताले छिटो एकता चाहेका छन् ।
साना दल र समूहले माओवादीसँग एकता गर्ने भनिए पनि नेकपा (एमाले) सँग भने तत्काल एकताको संभावना नरहेको माओवादी नेताहरू बताउँछन् । यद्यपि ०८४ को चुनाव अगाडि बृहत मोर्चा भने बन्न सक्ने उनीहरुको तर्क छ। माधवकुमार नेपाल,अशोक राई र विप्लव भने माओवादीसँग एकता गर्न सकारात्मक रहेको स्रोतले बताएको छ।

