नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित

काठमाडौं, १ असार । नेपाल आइसिसी टी-२० विश्‍वकवबाट एक खेल अगावै बाहिरिएको छ । शनिबार विहान भएको खेलमा दक्षिण अफ्रिकासँग १ रनको झिनो हार व्यहोर्दै नेपाल सुपर ८ को दौडबाट बाहिरिएको हो ।

दक्षिण अफ्रिकाले दिएको ११६ रनको लक्ष्य पछ्याएको नेपालले पूरा ओभर खेलेर ७ विकेटको क्षतिमा ११४ रन बनायो  । नेपाललाई अन्तिम ओभरमा ८ रन चाहिएको थियो । पहिलो दुई बल डट भए । तेस्रो बलमा चौका आउँदा चौथो बलमा गुल्शनले २ रन जोडे । अन्तिम दुई बलमा दुई रन चाहिएको अवस्थामा एक बल डट भयो भने अन्तिम बलमा एक रन लिने क्रममा गुल्शन रनआउट भए ।

नेपालका लागि ओपनर आसिफ शेखले ४९ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४२ रन बनाए । अनिल साहले २७ तथा कुशल भुर्तेलले १३ रन बनाए । दक्षिण अफ्रिका तबरेज शाम्सीले ४ ओभरमा १९ रन खर्चेर ४ विकेट लिए । नेपाल ९९-३ को अवस्थामा रहँदा १८औं ओभरमा शाम्शीले २ विकेट लिँदै टोलीलाई खेलमा फर्काएका थिए ।

त्यसअघि सेन्ट भिन्सेन्टमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले २० ओभरमा ७ विकेट गुमाउँदै ११५ रन बनाएको थियो । ओपनर रिजा हेन्ड्रिक्सले सर्वाधिक ४३ रन बनाएका थिए । ट्रिस्टन स्टब्सले २७ रन बनाए भने एइडेन मारक्रमले १५ र क्‍विन्टन डिककले १० रन बनाए ।

नेपालका लागि सातैवटा विकेट स्पिनरले लिएका थिए । कुशल भुर्तेलले ४ ओभरमा १९ रन खर्चेर ४ विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए ।

यस हारसँगै नेपाल सुपर ८ मा पुग्‍ने सम्भावना सकिएको छ । नेपालले समूह चरणको अन्तिम खेलमा सोमबार विहान बङ्गलादेशसँग खेल्न बाँकी छ । अब बङ्गलादेश र श्रीलंकामध्ये एक टोली सुपर ८ प्रवेश गर्ने छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय