‘पुजार सार्की’ हेर्दा बाबुराम भावुक !

काठमाडौं ।नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले बिहीवार चलचित्र ‘पुजार सार्की’ हेरेपछि जातीय विभेदको लडाइँ लामो भएको र धार्मिक शास्त्रमा परिवर्तन गरेर भएपनी यो विभेदको अन्त्य गर्नुपर्ने बताएका छन्।

चलचित्र हेरेपछि निर्माण पक्ष र कलाकारको उपस्थितिमा उनले भने-‘चलचित्रले सत्य बोलेको छ। ‘पुजार सार्की’ हेर्दा हेर्दै म आफू पनि भावुक भएँ। कतिपय प्रसङ्ग त अझै मैसँग पनि मिलेको पाएँ।’ उनले जातीय विभेद आर्थिक,सामाजिक, राजनीतिक तथा सांस्कृतिक रूपमा त छँदै छ, यसमा धार्मिक शास्त्रको पनि आड रहेको भन्दै धार्मिक शास्त्रलाई नै परिवर्तन नगरेसम्म नेपाल मात्र होइन दक्षिण एसियामा नै जातीय विभेद अन्त्य हुन नसक्ने जिकिर गरे।

डा.भट्टराईले जातीय विभेदको मुद्दालाई चलचित्रले गहिरो गरी उठाएकोमा खुशी व्यक्त गर्दै विभेद अन्त्यको लागि राज्यले पहल गर्नुपर्ने र त्यसमा धर्मगुरुहरूले पनि साथ दिनु पर्ने तर्क औंल्याए । रुकुम पश्चिममा नवराज बिक सहित ६ जना मारिएको घटना स्मरण गर्दै उनले यस्ता मुद्दामा सरकार र सरोकारवाला पक्ष अझै जिम्मेवार हुन नसकेको बताए।’मैले त संसदमै उभिएर मेरो नाम बाबुराम कामी भन्नुस् भनेको थिएँ, यो चलचित्रको पुजारीले पनि आफ्नो नाम पुजार सार्की लेख्नु भएको छ। यस्तो समस्यामा एक व्यक्तिले मात्र नाम थर लेखेर हुँदैन, राज्य र धर्मगुरुहरूले नै साथ दिनुपर्छ’-उनले भने।

पुर्व प्रधानमन्त्री भट्टराईले यो चलचित्रले जातीय विभेदको अन्त्य गर्न सन्देश दिएको मात्रै नभै चलचित्र हेर्ने दर्शकलाई मनोरञ्जन समेत दिएको बताए।उनले यस प्रकारका चलचित्रलाई राज्यले कर छुट दिनुपर्नेमा समेत जोड दिए।

यस अघि नै ‘पुजार सार्की’ हेरेर बाबुरामलाई लिएर फेरि आउँछु भनेकी बाबुराम पत्नी पुर्व मन्त्री हिसिला यमीले चलचित्रमा पल शाहको पात्रको खुलेर प्रशंसा गरिन। उनले राजनीतिकर्मीले यो चलचित्रको पात्र मेघराज (पल शाह)ले लिएको जस्तै विचारको अडान लिनुपर्ने बताइन् । मेघराज पात्रलाई चलचित्रमा सत्ता र शक्तिको पछि नलागी क्रान्तिकारी र अग्रगामी बिचार बोक्ने देखाइएको छ। सोहीक्रममा हिसिलाले प्रधानमन्त्री प्रचण्डको कार्यशैली प्रती तीखो व्यंग्य गरिन।उनले भनिन् -‘मेघराज पात्र जस्तो हुनुपर्ने वर्तमान प्रधानमन्त्री प्रचण्ड के भइदिनुभयो ! यसभन्दा बढी चर्चा नगरौं।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय