पाल्पाबाट बुटवल आउँदै गरेको कार दुर्घटना हुँदा तीनजनाको मृत्यु

रुपन्देही, ३१ जेठ । पाल्पाको नुवाकोटगढी घुमेर फर्कँदै गरेको कार दुर्घटना हुँदा तीनजनाको ज्यान गएको छ भने दुईजना घाइते भएका छन् । बुधबार साँझ करिब साढे ८ बजेको समयमा बुटवलतर्प आउँदै गरेको लु २ च ८५३१ नम्बरको कार बुटवल–१३ बंदेलपोखरी माथिको सडकबाट करिब सय मिटर तल खसेको थियो ।

दुर्घटनामा परी स्याङ्जाको पुलतीबजार घर भइ बुटवल- १० बस्ने कार चालक करिब ४६ वर्षीय रामप्रसाद शर्मा, रुपन्देहीको तिलोत्तमा नगरपालिका- ३ बस्ने ५७ वर्षीय आशका श्रेष्ठ, तिलोत्तमा- ३ कै ५० वर्षकी भगवती श्रेष्ठको मृत्यु भएको हो । गम्भीर घाइते भई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएका तीनैजनालाई डाक्टरले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

दुर्घटनामा बुटवल उपमहानगरपालिका–९ बस्ने चन्द्रा श्रेष्ठ र बुटवल–११ बस्ने लक्ष्मीता श्रेष्ठ घाइते भएका छन् । उनीहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ । उनीहरु खतरामुक्त छन् ।

रातको समयमा कारले गतिमा नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रहरीको अनुमान छ । यसबारेमा थप अनुसन्धान भइरहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय