नामिबियालाई हराएको अस्ट्रेलिया सुपर ८ का लागि छनौट

काठमाडौं, ३० जेठ । अस्ट्रेलिया आइसिसी टी-२० विश्‍वकप क्रिकेटको सुपर ८ का लागि छनौट भएको छ । प्रतियोगिता अन्तर्गत बुधबार विहान भएको खेलमा नामिबियामाथि ९ विकेटको सहज जीत निकाल्दै अस्ट्रेलिया छनौट भएको हो ।

नामिबियाले दिएको ७३ रनको सामान्य लक्ष्य अस्ट्रेलियाले ५ ओभर ४ बलमा १ विकेटको क्षतिमा भेट्टायो । अस्ट्रेलियाका ट्राभिस हेड १७ बलमा ३४ रनमा अविजित रहे । डेभिड वार्नरले ८ बलमा २० रन बनाउँदा कप्तान मिचेल मार्श ९ बलमा १८ रनमा नटआउट रहे । नामिबियाका डेभिड विजाले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले १७ ओभरमा अलआउट हुँदै ७२ रन बनाएको थियो । कप्तान जेरार्ड इरास्मसले सर्वाधिक ३६ रन बनाए । माइकल भान लिन्जेनले १० रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउनै सकेनन् ।

अस्ट्रेलियाका एडम जाम्पाले ४ ओभरमा १२ रन दिएर ४ विकेट लिए । जोश हेजलवूड र मार्कस स्टोइनिसले २-२ विकेट लिँदा प्याट कमिन्स र नेथन एलिसले १-१ विकेट लिए ।

समूह बी मा रहेको अस्ट्रेलियाको ३ खेलमा ६ अंक भएको छ । ३ खेलमा २ अंक मात्र भएको नामिबिया सुपर ८ को दौडबाट बाहिरिएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय