बङ्गलादेशमाथि दक्षिण अफ्रिकाको रोमाञ्‍चक जीत

काठमाडौं, २८ जेठ । आइसिसी टी-२० विश्‍वकपमा दक्षिण अफ्रिकाले लगातार तेस्रो जीत हासिल गरेको छ । दक्षिण अफ्रिकाले बङ्गलादेशलाई ४ रनले हराएको हो ।

दक्षिण अफ्रिकाले दिएको ११४ रनको लक्ष्य पछ्याएको बङ्गलादेशले २० ओभरमा ७ विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो । बङ्गलादेशका तोहिद रिदोएले सर्वाधिक ३७ रन बनाए । अन्तिम ३० बलमा ३१ रन चाहिएको अवस्थाबाट बङ्गलादेशलाई अन्तिम ओभरमा ११ रन चाहिएको थियो ।

अन्तिम ओभरमा स्पिनर केशव महाराजले ६ रन मात्र दिएर २ विकेट लिए । महाराजले ४ ओभरमा २७ रन दिएर कुल ३ विकेट लिए ।  एनरिच नोर्त्जेले ४ ओभरमा १७ रन दिएर २ विकेट लिए । कगिसो रबाडाले ४ ओभरमा १९ रन दिएर २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ११३ रन बनाएको थियो । हेनरिच क्लासेनले सर्वाधिक ४६ रन बनाए भने डेभिड मिलरले २९ रन बनाए । ओपनर क्‍विन्टन डिककले १८ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बङ्गलादेशका तन्जिम हसन साकिबले ४ ओभरमा १८ रन दिएर ३ विकेट लिए । तास्किन अहमदले ४ ओभरमा १९ रन दिएर २ विकेट लिए । रिशाद होसेनले १ विकेट लिए ।

यस जीतसँगै दक्षिण अफ्रिकाको ३ खेलमा ६ अंक भएको छ र समूह डी मा शीर्ष स्थानमा रहेको छ । बङ्गलादेशको २ खेलमा २ अंक छ । नेदरल्यान्ड्सको पनि २ खेलमा २ अंक छ । नेपाल र श्रीलंका अंकविहीन छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय