रुकुममा इन्टरनेट सर्भिसको जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु

रुकुम पश्चिम, २८ जेठ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१ स्थित नेपानेमा इन्टरनेट सर्भिसका कर्मचारी सवार बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य तीन जना घाइते भएका छन् ।
मुसिकोट-१ खलङ्गाबाट बाँफिकोट गाउँपालिका-४ स्थित छिनखेत जाँदै गरेको कर्णाली प्रदेश २ ००१ च ०४१३ नम्बरको बोलेरो जीप आइतबार बेलुका सडकबाट खसेर दुर्घटना भएको हो ।
मृत्यु हुनेमा बर्दियाको ठाकुरबाबा नगरपालिका-५ कालीगौडीका २७ वर्षीय सौगात बिक, गाडी चालक सुर्खेतको गुर्भाकोट नगरपालिका-८ मेहलकुनाका ३० वर्षीय धर्मेन्द्र श्रेष्ठ र सुर्खेत बराहताल गाउँपालिका-५ बड्डीचौरका १९ वर्षीय जितबहादुर कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरु दिनभरी बाफिकोटमा वर्ल्डलिंक इन्टरनेट जडानको काम गरेपछि बास बस्नको लागि छिनखेततर्फ जाँदै गर्दा दुर्घटनामा परेका हुन् ।

