पोखरा फेवातालमा डुङ्गा दौड हुँदै
पोखरा, २८ जेठ । पर्यटकीय राजधानी पोखराको फेवातालमा डुंगा दौड प्रतियोगिता हुने भएको छ।फेवा डुंगा व्यवसायी संगठनको आयोजनामा जेठ ३१ गते सो प्रतियोगिता हुनेछ।

संस्थाको ३० औं स्थापना दिवसका अवसरमा प्रतियोगिता एंव एक दिने मेला उत्सव आयोजना गर्न लागिएको संगठनले जानकारी दिएको छ । पोखराको पर्यटन प्रवर्धन साथै पर्यटकको आकर्षण बढाउन उक्त मेला र प्रतियोगिता आयोजना गरिएको संगठनका अध्यक्ष बलराम गिरीले जानकारी दिए ।

आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा ४० टीमले सहभागिता जनाउने संस्थाका सचिव सचिव शिव जिसीले जानकारी दिए। प्रतियोगितामा महिला र पुरुषको छुट्टाछुट्टै टिम रहने छ।
प्रतियोगितामा सहभागी हुने टिममा ३ जना हुनु पर्नेछ । सहभागी हुने टिमले काठबाट बनेको डुंगाको प्रयोग गर्नु पर्नेछ । सहभागी हुने एउटा टिमलाई ३ सय रुपैयाँ दर्ता शुल्क तोकिएको र प्रतियोगितामा स्वदेशी तथा विदेशी सबै खेलाडीले सहभागिता जनाउन पाउनेछन् ।
सहभागीको आफ्नो डुंगा नभए आयोजकले व्यवस्था गर्ने पनि जनाइएको छ। प्रतियोगिामा पुरुष टीमले २१ सय मिटर र महिला टीमले १५ सय मिटरमा प्रतिस्पर्धा गर्नुपर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुनेले ३० हजार हजार र द्वितिय हुनेले २० तथा तृतिय हुनेले १० हजार पुरस्कार पाउनेछ। महिलातर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २० हजार, १५ हजार र १० हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिता सम्पन्न गर्नका लागि करिक २ लाख ४० हजार रुपैयाँ खर्च लाग्ने आयोजकले अनुमान गरेको छ । प्रतियोगिताबाट बचत भएको रकम फेवातालको सरसफाईमा खर्च गरिनेछ।