होसेनको घातक बलिङमा युगान्डा ३९ रनमै अलआउट !

काठमाडौं, २७ जेठ । अमेरिका र वेस्टइन्डिजमा जारी आइसिसी टी-२० क्रिकेट विश्वकपमा आयोजक वेस्ट इन्डिजले लगातार दोस्रो जीत हासिल गरेको छ । आइतबार विहान भएको खेलमा वेस्ट इन्डिजले युगान्डालाई १३४ रनको फराकिलो अन्तरले हराएको हो ।

वेस्टइन्डिजले दिएको १७४ रनको लक्ष्य पछ्याएको युगान्डा १२ ओभरमा ३९ रनमै अलआउट भयो । जुमा मियागी १३ रनमा अविजित रहे । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । युगान्डालाई सस्तैमा समेट्न अकिल होसेन एक्लैले पाँच विकेट लिए । उनले ४ ओभरमा ११ रन मात्र दिए । रोमारियो शेपहर्ड, आन्द्रे रसल र गुडाकेश मोटीले एक-एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ् गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७३ रन बनाएको थियो । जोनसोन चार्ल्सले सर्वाधिक ४४ रन बनाउँदा आन्द्रे रसल ३० रनमा नटआउट रहे । युगान्डाका ब्रायन मासाबाले २ विकेट लिँदा अल्पेश रामजानी, दिनेश नकरानी र कसमस केयुटाले १-१ विकेट लिए ।

योसँगै समूह सी मा अफगानिस्तान र वेस्ट इन्डिजको समान २ खेलबाट ४ अंक भएको छ । नेट रनरेटका आधारमा अफगानिस्तान पहिलोमा छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय