देशभर २८८ फिल्म हल बन्द !
पछिल्लो समय चलचित्र उद्योगमा वार्षिक लगानी र आम्दानीको हिसाब करोड होइन अर्बौंमा हुनथालेको छ।तर,चलचित्र प्रदर्शन गर्ने फिल्महलको संख्या भने घटेको घट्यै छ।
खासगरी अहिले देशका धेरै जिल्लामा सिङ्गलथियटर हल र हाइभिजन हल बन्द भएका छन् । कुनैबेला नाम चलेका फिल्म हल अहिले अस्तित्वमा छैनन् । पाटनको अशोक हल र चाबहिलको गोपिकृष्ण फिल्म हलदेखि जय नेपाल, कुमारी, हिरारत्न, तारा, जुन र गङ्गा हल सहित राजधानीमै दर्जनौं हल बन्द भए। बिश्वज्योती, रन्जना र गुणले भने आफुलाई सिङ्गल थियटर बाट मल्टिप्लेक्समा रुपान्तरण गरेका छन् ।
यो अवस्था काठमाडौं बाहिर अझै धेरै छ। नारायणगढ,धरान,इटहरी,बिर्तामोड,पोखरा,हेटौंडा,बुटवल र दाङमा बढी नेपाली चलचित्र प्रदर्शन हुने सिङ्गल हल प्रायः बन्द भइसके। चलचित्र निर्माणको उच्च प्रविधिको गुणस्तर र दर्शकको रोजाइ मल्टिफ्लेक्समा बढेपछि साना र सिङ्गल हल बन्द हुन थालेका हुन् । चलचित्र हेर्ने समय, आरामदायी सिट, पारिवारिक वातावरण र पार्किङ लगायत सुविधाले दर्शकले ठुला महलमा निर्माण भएका ‘मल्टीफ्लेक्स’ हलहरु रोजेका हुन् ।
अहिले देशभर कम्तीमा २८८ फिल्म हल बन्द भएको देखिएको छ। यो तथ्यांक अझै बढी हुनसक्छ। कुनै समय नेपालमा ४ सय ५२ भन्दा बढी फिल्म हल थिए। गोपिकृष्ण एउटैमा ७ वटा पर्दा थियो। अहिले गोपिकृष्णका सबै हल बन्द छन् भने देशभर २८८ हल बन्द छन् । प्रारम्भिक जानकारी अनुसार हाल देशभर जम्मा १६४ हाराहारीमा मात्रै फिल्महल संचालनमा छन् ।
स्रोतका अनुसार झापामा २१, पाँचथरमा २, मोरङमा २५, सुनसरीमा १९, इलाममा १, धनकुटामा २, भोजपुरमा १, सप्तरीमा ८, सिरहामा ७, उदयपुरमा ५, खोटाङमा २, सर्लाहीमा ८, धनुषामा १४, महोत्तरीमा ५, दोलखामा २, सिन्धुलीमा १, बर्दिवासमा १, मकवानपुरमा ६, रौतहटमा ६ वटा हल संचालनमा थिए ।
त्यसैगरी चितवनमा १३, बारामा १४, पर्सामा १३, भक्तपुरमा ९, काठमाडौँमा ८५, ललितपुरमा १६, नुवाकोटमा १, सिन्धुपाल्चोकमा १, काभ्रेपलान्चोकमा ४, धादिङमा २, लमजुङमा ५, तनहुँमा १३, कास्कीमा १४, गोरखामा २, स्याङ्जामा २, बागलुङमा ४, पर्वतमा ४, म्याग्दीमा ३, कपिलबस्तुमा ९, रुपन्देहीमा १६, नवलपरासीमा ११, बुटवलमा २, गुल्मीमा ३, पाल्पामा १, दाङमा १४, प्युठानमा १, बर्दियामा ९, सल्यानमा १, बाँकेमा ८, सुर्खेतमा ४, जुम्लामा १, कैलालीमा १५ र कञ्चनपुरमा ८ हल सञ्चालनमा थिए ।
देशभर ४५२ पर्दा (हल) संचालनमा रहेकामा अहिले १६४ पर्दामात्र सञ्चालनमा रहेको देखिन्छ।‘सबै हल एकै समय बन्द भएका होइनन्,द्वन्द्व,आन्दोलन,भुकम्प र कोरोनासंगै पछिल्लो समय आर्थिक संकट पनि कारण हो’ चलचित्र हल संचालकहरु भन्छन् -,‘तर,धेरैजसो हल कोरोनाका कारण बन्द भयो । त्यसभन्दा अगाडि र पछाडि पनि बन्द भए।’
नेपाल चलचित्र सङ्घका अनुसार अहिले देशभर डेढ सय हाराहारीमा फिल्महल चलेका छन् । त्यसमा पनि सबैभन्दा बढी हल काठमाडौंमा नै छन् । यहाँ ४१ वटा हल संचालनमा छ। जबकी कोरोना अगाडि सम्म काठमाडौमा मात्रै ८५ वटा हल संचालनमा थियो। त्यसपछि दोस्रोमा झापा र तेस्रोमा रुपन्देहीमा १०–१० वटा हल चलिरहेका छन् ।
हाल ललितपुरमा ३, भक्तपुरमा ४, काभ्रेमा २, पर्सामा ५, बारामा २, सर्लाहीमा ४, धनुषामा १, सिरहामा १, धनकुटामा १, सुनसरीमा ७, मोरङमा ९, कैलालीमा १, सुर्खेतमा १, बाँकेमा ५, दाङमा ५, कपिलबस्तुमा २, गुल्मीमा १, पाल्पामा १, नवलपरासीमा १, बागलुङमा २, कास्कीमा ९, तनहुँमा २, धादिङमा १, चितवनमा ५ र मकवानपुरमा ३ हल सञ्चालनमा छन्
हल बन्द भएसँगै त्यहाँ कार्यरत ४ हजार भन्दा बढी कर्मचारीले रोजगारी गुमाएका छन् । हलमा प्रत्यक्ष रुपमा आश्रित कर्मचारी सुरक्षा गार्डदेखि हलभित्रको प्राबिधिक,लाइट म्यान र टिकट काउण्टर अनि मेनेजर गरी सरदर चार हजार जना बेरोजगार भएका छन् । एउटा हलबाट १० देखि १५ जना बेरोजगार भएको अवस्था देखिन्छ। यसरी हेर्दा २८८ हल बन्द हुँदा कम्तीमा ३५ सय देखि ४ हजार जना बेरोजगार भएको देखिन्छ।