फेरि राजनीतिमा कालो बादल !

काठमाडौं, २५ जेठ । सधैं अस्थिर र भाँडभैलो मै रुमल्लिएको नेपाली राजनीतिमा फेरि कालो बादल देखिन थालेको छ । सत्ता गठबन्धन भित्रैका दलहरू एकआपसमा विभाजित छन् भने प्रमुख प्रतिपक्षी सहित विपक्षी दलहरू समेत लथालिङ्ग छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओली बिच खटपट देखिन थालेको छ भने एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि प्रचण्डको दिलखुश छैन । बेलाबेला प्रचण्ड र नेपाल बिच घोचपेच समेत हुन थालेको छ । पछिल्लो समय नेपाल सत्ता पक्ष भन्दा प्रतिपक्षी नेपाली कांग्रेससँग नजिकिन थालेका छन् ।
यसैगरी सत्ता गठबन्धनमै रहेको जसपा बिभाजन भैसकेपछी उपेन्द्र यादव पक्षले सरकार छाडेर गएको छ भने बाकी ७ जना सांसद सत्तापक्षमा छन् । यद्यपि अशोक राईले नेतृत्व गरेको यो ७ जनाको अवस्था के हुने भन्ने अदालतको फैसला आउनै बाकी छ। तर,यहि बिचमा उपेन्द्र नेतृत्वको जसपाले मधेस प्रदेश सरकार समेत गुमाएको छ।
सत्ता भागबन्डाको खेलमा यतिबेला केन्द्र सरकारदेखि ७ वटै प्रदेशका सरकार पनि प्रभावित छ।केन्द्रमा जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई भित्र्याउन जोडबल भैरहेको छ भने मधेस प्रदेशमा जोडघटाउका बीच जनमत पार्टीलाई मुख्यमन्त्री बनाइएको छ। मधेस प्रदेशमा सहमति गरेको नेकपा एकीकृत समाजवादीले सुदुरपश्चिम प्रदेशमा मुख्यमन्त्री पाएपनी मन्त्रीमण्डलमा साथ पाएको छैन। कोशी,गण्डकी र कर्णाली प्रदेशमा समाजवादीलाई सत्तापक्ष नै मानिएको छैन।
अर्कोतिर सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्र पार्टी भित्रको आन्तरिक कलहमा फसेको छ। प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्ड स्वयंले पार्टीमा गुट उपगुट मौलाएको भन्दै पार्टी फुटाउने षड्यन्त्र भएको समेत भनेका छन् । सत्ताबाट बाहिर पुग्ने बित्तिकै उपेन्द्र यादवले आफ्नो पार्टी फुटाउने केपी ओली र प्रचण्ड हुन् भन्दै अब माओवादी पनि फुट्ने दाबी गरेका थिए। यसरी हेर्दा माओवादी भित्र पक्कै केही खटपट र असन्तुष्टि छ भन्ने सजिलै बुझ्न सकिन्छ। पार्टी उपमहासचिव जनार्दन शर्मा,मात्रीका यादव,चन्द्रप्रकाश खनाल लगाएत नेताहरू प्रचण्डको व्यबहारबाट आजित भैसकेको र कुनैपनि समयमा बिद्रोह हुनसक्ने तयारीमा छन् ।
उता,नेपाली कांग्रेसले पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध आक्रामक तर,अन्य नेताप्रती नरम हुने निति लिएको देखिन्छ। संसद भवनमा नै स्पष्ट रुपमा काङ्ग्रेस नेताहरू रविको पार्टीका नेताहरू प्रती नरम भएको देख्न सकिन्छ। बुझिए अनुसार रास्वपा भित्र ५ जना सांसद पार्टी सभापति रवि लामिछानेको कार्यशैली विरुद्ध छन् । बिगतमा विवेकशील पार्टीको स्कुलिङबाट आएका खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठ सहित ५ जना नेता रविको आलोचक छन् । तिनलाई साथमा लिएर सत्ता गठबन्धन विरुद्ध प्रहार गर्ने कांग्रेस नेताहरूको तयारी छ।
नेकपा एकीकृत समाजवादीका पनि ७ सांसद अध्यक्ष माधवकुमार नेपालको कार्यशैली प्रती असन्तुष्ट छन् । प्रेम आले, धनबहादुर बुढा,किसान श्रेष्ठ सहित ७ सांसदले असन्तुष्टि देखाएपछि पार्टीमा अन्यौलको अवस्था छ। पार्टी महाधिवेशन अगाडी नै कुनै राजनीतिक दुर्घटना हुने हो कि भन्ने त्रासमा अध्यक्ष नेपाल देखिन्छन् ।
नागरिक उन्मुक्ति पार्टीमा पनि अध्यक्ष रन्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरी (श्रीमान् /श्रीमती ) बिचमा बोलचाल बन्द छ।जसको कारण केन्द्रदेखि सुदुरपश्चिम र लुम्बिनी प्रदेश सरकारलाई संकट निम्त्याउन सक्ने देखिन्छ। रेशमले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेका छैनन् भने रन्जिता यहि सरकारमा पर्यटन मन्त्री बन्ने तयारीमा छिन् ।
यसरी हेर्दा वर्तमान सरकारको आयु कति भन्ने भविस्यवाणी दैनिक हुनथालेको छ।कोशी र गण्डकी प्रदेशका सरकार अदालतको निर्णयपछि हलचल गर्न नमिल्ने अवस्थामा छन् भने बागमती र लुम्बिनी सरकारमा खटपट नै छ। कर्णाली प्रदेश सरकारमा एमाले भित्रै मतभेद छ भने मधेस र सुदुरपश्चिम सरकारले पुर्णता पाउनै सकेको छैन। यहि बिचमा केन्द्र सरकारले ११ देशका राजदूत फिर्ता बोलाएको छ।
अचम्म के छ भने माधवकुमार नेपाल नेतृत्वको समाजवादी कोटामा राजदूत बनेकालाई समेत फिर्ता बोलाएर राजनीतिमा अर्को संकट निम्त्याउन खोजिएको छ।केपी ओली र प्रचण्डले एकलौटी निर्णय गर्दै कांग्रेस,नेकपा एस,जसपा र नेसपाबाट राजदूत भएकालाई फिर्ता बोलाइएको छ।जसमा अमेरिका र भारतका राजदूत समेत छन् ।

