बैंकहरूको खराब कर्जा बढ्यो, कसको कति ?

काठमाडौं, २२ जेठ । नेपाल राष्ट्र बैंकले दिएको निर्देशन नमान्नेदेखि आफुखुशी ब्याज बढाउने हर्कत गरिरहेका बैंकहरूको औषत खराब कर्जा पनि बढेको छ । बैंकहरुले राष्ट्रबैंकलाई झुठो विवरण दिने वा खराब कर्जाको अनुपात कम देखाउन ऋणीलाई अझै पुनःकर्जा दिएर आफ्नो भाखा नाघेको रकम मिलान गर्ने गरेपनी खराब कर्जा झन् बढ्दै गएको देखिन्छ ।

पछिल्लो समय प्रायः बैंकहरुको खराब कर्जा ३.८९ प्रतिशत भन्दा माथी देखिन्छ । त्यसमा पनि लक्ष्मी सनराइज बैंकको ५ प्रतिशत भन्दा पनि माथी रहेको रहस्य खुलेको छ। अन्यको पनि अवस्था सुखद भने छैन। पहिले यो अनुपात ३ प्रतिशत भन्दा कम हुन्थ्यो ।

सरकारी बैंक नेपाल बैंक लिमिटेडको पनि खराब कर्जाको प्रतिशत बढी नै छ। जानकारी अनुसार नेपाल बैंकको ४.८५ प्रतिशत खराब कर्जा रहेको छ। लक्ष्मीसनराइज बैंकको खराब कर्जा भने सबैभन्दा धेरै अर्थात ५.४९ प्रतिशत रहेको छ।

अहिलेको समयमा खराब कर्जा ५ प्रतिशतभन्दा माथि पुग्नुलाई राम्रो मानिँदैन। ५ प्रतिशतभन्दा माथि खराब कर्जा पुगेमा राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारबाही गर्न सक्ने व्यवस्था रहेको छ।

लक्ष्मी सनराइज बैंकपछि धेरै खराब कर्जा हुने बैंक हिमालयन बैंक हो। चैत मसान्तसम्ममा यस बैंकको खराब कर्जा ४.९६ प्रतिशत रहेको देखिन्छ। त्यसैगरी तेस्रो नम्बरमा कुमारी बैंक छ। जसको खराब कर्जा ४.९५ प्रतिशत रहेको छ।

त्यसैगरी पाचौं नम्बरमा प्रभु बैंक र छैटौंमा ग्लोबल आइएमई बैंक खराब कर्जा धेरै भएका बैंक हुन् । प्रभुको ४.८१ प्रतिशत र ग्लोबल आईएमईको ४.७४ प्रतिशत खराब कर्जा छ। यस्तै नेपाल इन्भेष्टमेन्ट मेघा बैंकको खराब कर्जा ४.६६ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ४.३० प्रतिशत र प्राइम कमर्सियल बैंकको ४.२९ प्रतिशत रहेको देखिन्छ।

चैत मसान्तसम्मको अवस्था हेर्दा सबैभन्दा कम खराब कर्जा एभरेष्ट बैंकको देखिन्छ। जसको खराब कर्जा १ प्रतिशत पनि छैन। यो बित्तीय हिसाबले राम्रो हो। चैत मसान्तसम्म एभरेस्ट बैंकको खराब कर्जा ०.७० प्रतिशत मात्रै रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। एभरेस्ट जस्तै तर २ प्रतिशत भन्दा कम खराब कर्जा हुने वाणिज्य बैंक सानिमा बैंक हो। यस बैंकको खराब कर्जा १.८९ प्रतिशत मात्रै छ।

त्यस्तै नेपाल एसबीआई बैंक,स्ट्यान्डर्ड चार्टर बैंक,सिद्धार्थ बैंक र एनएमबी बैंक पनि कम खराब कर्जा हुने बैंकको सूचीमा देखिन्छन् । एसबीआई बैंकको खराब कर्जा १.९८ प्रतिशत, स्टाण्डर्ड चार्टर्ड बैंकको २.१४ प्रतिशत, सिद्धार्थ बैंकको २.५२ प्रतिशत र एनएमबि बैंकको २.८६ प्रतिशत खराब कर्जा छन्।

बिश्वकै धनाढ्य विनोद चौधरीको बढी स्वामित्व रहेको नविल बैंकको खराब कर्जा पनि बढी छ। नबिलको ४.०४ प्रतिशत खराब कर्जा देखिन्छ भने एनआईसी एसिया बैंकको ३.०८ प्रतिशत, माछापु्च्छ्रे बैंकको ३.६८ प्रतिशत र सिटिजन्स इन्टरनेशनल बैंकको ३.७६ प्रतिशत खराब कर्जा रहेको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय