अत्याधिक गर्मीले वीरगञ्जका विद्यालय तीन दिन बन्द

वीरगञ्ज, १४ जेठ । अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगरभित्रका विद्यालयको पठनपाठन तीन दिन बन्द हुने भएको छ । वीरगञ्ज आसपास क्षेत्रको तापक्रम बढेर बिहानी सत्रको पठनपाठन कार्य पनि प्रभावित भएसँगै जेठ १६ देखि १८ गतेसम्म तीन दिन विद्यालयको पठनपाठन कार्य बन्द गर्न लागिएको हो ।

वीरगञ्ज महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका अनुसार अत्यधिक गर्मीको कारणले पठनपाठनमा असहज भएको भन्दै अभिभावक, विद्यार्थी र शिक्षकबाट गुनासो आएसँगै महानगर शिक्षा समितिको आज बसेको बैठकले तीन दिन पठनपाठन बन्द गर्ने निर्णय गरेको हो ।

उक्त तीन दिन वर्षे बिदाबाट कट्टा हुने गरी सबै विद्यालयको प्रशासनिक कार्य गर्न/गराउन बाधा नपर्ने गरी पठनपाठन कार्य मात्र बन्द हुने जनाइएको छ । मङ्गलबार भने गणतन्त्र दिवसका सार्वजनिक बिदा छ । महाशाखाका अनुसार मौसम सुधार भएको खण्डमा भने पठनपाठन गर्न पनि सकिने छ ।

महानगर शिक्षा समितिको २०८१ वैशाख १७ गतेको निर्णयअनुसार प्रतिकूल मौसम (अत्यधिक गर्मी) का कारणले दिउँसोको समयमा पठनपाठन कार्य असहज भएको भन्दै बिहान ६ बजेदेखि गर्ने निर्णय गरेको थियो । गत वैशाख २० गतेदेखि वीरगञ्ज महानगर क्षेत्रमा बिहानीको समयमा पठनपाठन हुँदै आएको थियो ।

महानगरभित्र सामुदायिकतर्फ ९२ वटा र निजीतर्फ एक सय ३८ विद्यालय छन् । सामुदायिक विद्यालयतर्फ २१ माध्यमिक, १५ आधारभूत, ५५ वटा प्राथमिक विद्यालय र एउटा पूर्वप्रथामिक विद्यालय रहेको छ । रासस

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय