चितवन दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या दुई पुग्यो

चितवन, १४ जेठ । चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा गएराति भएको चार सवारीबीच भएको दुर्घटनामा परी मृत्यु हुनेको संख्या २ पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएका ट्रकका सहचालक २१ वर्षीय राजन सुवेदीकाे उपचारको क्रममा मृत्यु भएको हो ।
आइतबार मध्यराति करिब साढे १२ बजेको समयमा मुग्लिन नारायणगढ सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका वडा नं २९ को सत्रकिलो भन्ने स्थानमा तीनवटा बस र एक ट्रक एकआपसमा ठोक्किएका थिए ।
मध्यराति १२:३० बजेको समयमा ३ वटा यात्रुवाहक बस र २ वटा ट्रक एक आपसमा ठोक्किएका थिए जसमा परी एक १७ वर्षीय युवकको गएराति नै ज्यान गएको थियो ।
काठमाडौंबाट प्युठान जाँदै गरेको बा ४ ख ९०८६ नम्बरको यात्रुबाहक बससँग विपरित दिशाबाट आउँदै गरेको बा ३ ख ७९१५ नम्बरको डिब्बा ट्रक ठक्कर खाएको थियो । उक्त ट्रकको पछाडि वीरगन्जबाट काठमाडौं आउँदै गरेको ना ६ ख ८९६८ नम्बरको बस ठोक्किएको थियो ।
त्यस्तै मुग्लिनबाट जाँदै गरेको त्यही ९०८६ नम्बरको यात्रुबाहक बसमा काठमाडौंबाट बर्दिवास जाँदै गरेको ना ४ ख ३२४८ नम्बरको बस पनि ठोक्किएको थियो ।

