चितवनमा मध्यराति भयानक दुर्घटना, तीन बस र एक ट्रक एकैठाउँमा ठोक्किए
एकको मृत्यु, कम्तिमा २० घाइते
चितवन, १४ जेठ । चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा गएराति भयानक दुर्घटना भएको छ जसमा परी एकजनाको ज्यान गएको छ भने २० जनाभन्दा बढी घाइते छन् । सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका वडा नं २९ को सत्रकिलो भन्ने स्थानमा चारवटा सवारी साधन एकआपसमा ठोक्किएका हुन् ।
मध्यराति १२:३० बजेको समयमा ३ वटा यात्रुवाहक बस र एक ट्रक एक आपसमा ठोक्किएका हुन् जसमा परी एक १७ वर्षीय युवकको ज्यान गएको छ । उनको सनाखत हुन बाँकी छ ।
काठमाडौंबाट प्युठान जाँदै गरेको बा ४ ख ९०८६ नम्बरको यात्रुबाहक बससँग विपरित दिशाबाट आउँदै गरेको बा ३ ख ७९१५ नम्बरको डिब्बा ट्रक ठक्कर खाएको थियो । उक्त ट्रकको पछाडि वीरगन्जबाट काठमाडौं आउँदै गरेको ना ६ ख ८९६८ नम्बरको बस ठोक्किएको थियो ।
त्यस्तै मुग्लिनबाट जाँदै गरेको त्यही ९०८६ नम्बरको यात्रुबाहक बसमा काठमाडौंबाट बर्दिवास जाँदै गरेको ना ४ ख ३२४८ नम्बरको बस पनि ठोक्किएको हो । दुर्घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरीको टोली घटनास्थलमा पुगेको थियो ।
दुर्घटनमा परेकाहरुको उद्धार गरी केही घाइतेहरुलाई उपचारको लागि कुरिनटार स्थित आधारभुत अस्पताल र केहीलाई भरतपुर लगिएको जनाइएको छ । घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक छ ।
– समाचारको पहिलो प्रकाशनमा एक ट्रक हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ । – सं

