जात व्यवस्था विरुद्ध आगो हो ‘पुजार सार्की’ !

दिनेश राउतको निर्देशन र सुभाष भुसालको निर्माणमा तयार भएको फिल्म ‘पुजार सार्की’ देश तथा विदेशमा एकसाथ रिलिज भएको छ ।देशभर ३ सय भन्दा बढी र ४० देशका २८० पर्दामा चलचित्र ‘पुजार सार्की’ चलिरहेको छ।

बुद्धपुर्णिामाको सार्बजनिक बिदाको दिनलाई लक्षित गरि प्रदर्शनमा ल्याइएको फिल्मको २ दिनको व्यापार सुखद छ । आज शनिबार पनि अधिकांश हल हाउसफूल छ। बिहानैबाट हलहरुमा दर्शकको चाप बढेको देख्न सकिन्छ। विकास सुवेदीको लेखनमा तयार भएको यो फिल्मले वि.सं २०४६ सालदेखि हालसम्मको कथा भन्छ ।

जातीय विभेदलाई नै मुख्य बिषय बनाइएको भएपनी फिल्ममा २०४६ सालको अन्त्यतिर पन्चायती व्यवस्थाको विरुद्ध भएको आन्दोलन र त्यसपछी बहुदलीय व्यवस्था आएपनी पुरानै अनुहार र शासकले कसरी जात व्यवस्थाको विरुद्ध जुर्मुराएका युवालाई भूलभुलैया राख्छन् र आफ्नो स्वार्थ पूरा गर्छन् भन्ने देखाइएको छ। यसमा केही संवाद र पात्र तत्कालीन अवस्थामा त्यो गाउँमा घटेकै घटना जस्तो लाग्छ। केही पात्रको नाम र काम समेत मेल खान्छ! यद्यपि चलचित्रले ‘कोही कसैसँग मेल खाएमा संयोग मात्रै’ भन्ने कुरालाई न्याय गरिदिएको छ।

चलचित्रका तीन नायकहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले कथाको मर्म अनुरुप आफ्नो भुमिकामा अब्बल अभिनय गरेका छन् ।साथमा नायिकाद्वय अन्जना बराइली र परीक्षा लिम्बुको पनि अभिनय दमदार छ। शंकर आचार्य,सुभाष गजुरेल र छोटो भुमिका निभाएका प्रकाश घिमिरे पनि चलचित्रलाई डोहोर्‍याउन सफल देखिएका छन् ।

फिल्ममा तीन नायक भएपनि प्रदीप खड्का हाबी देखिन्छन्। पल शाहको करियरको दोस्रो प्रवेश सुखद छ । क्रान्तिकारी चेतना र बिद्रोहको नायक बनेका पललाई अन्तिम सम्म दर्शकले देख्न सक्छन् । आर्यन सिग्देलको पुजार कर्म र अन्तर्जातिय प्रेम सम्बन्धले ल्याएका उतारचढाव हेर्न लायक छ। चलचित्रमा उनीहरुको बिद्रोहले समाजलाई कति बदल्छ वा बिद्रोह दबाउने पन्च नै बहुदलमा समेत हावी भएपछि के हुन्छ ? त्यसको लागि चलचित्र हल सम्म पुग्नुपर्छ ।

कास्कीको पोखरा नजिकै फेवाताल माथिको कास्कीकोट(हाल पोखरा महानगरपालिका-२४) तत्कालीन कास्कीकोट गाउँ पन्चायत र पछि कास्किकोट गाविसमा केही समय अगाडि घटेको जातीय छुवाछूत घटनालाई समेत छुनेगरी त्यहीँको स्थानीय भाषा र रहनसहनलाई टपक्कै टिपेर निर्माण गरिएको २ घन्टा १५ मिनेट लामो यो फिल्मलाई नायक प्रदीप खड्काले पुरै समय होल्ड गरेका छन् । शिर्ष भुमिका ‘पुजार’ बनेका आर्यन सिग्देल र विद्रोही नायकको रुपमा देखिएका पल शाहले चलचित्रलाई थप बलियो बनाएका छन् ।

तर, प्रदीप खड्काको कमेडी संवाद, उनको हाउभाउ सहितको अभिनय अनि फरक खालको ल्याङफ्याङ र केही कुरा मनमा अड्याउन नसक्ने केटो बनेको दर्शकको लागि छुट्टै स्वाद हुनसक्छ। यो भन्दा बढी उत्सुकता भएमा फिल्म हलमै पुगेर उत्सुकता मेटाउने दर्शकले ‘पैसा खेर गयो’ भन्ने अवस्था आउँदैन।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय