एन्फा इन्टर कलेज फुटसलको उपाधि विनायक सिद्धले जित्यो

काठमाडौं, ११ जेठ । एन्फा इन्टर-कलेज फुटसल च्याम्पियनसिपको उपाधि काठमाडौंको चाबहिलस्थित विनायक सिद्ध कलेजले हात पारेको छ । लगनखेलस्थित नेपाली सेनाको शारीरिक प्रशिक्षण केन्द्रको फुटसल कोर्टमा भएको खेलमा विनायक सिद्धले उपाधी जितेको हो ।

प्रतियोगिता अन्तर्गत फाइनलमा विनायक सिद्धले ब्राईट भिजन कलेजलाई ८-३ को अन्तरले हराउँदै उपाधि आफ्नो पक्षमा पारेको हो । उपाधि भिडन्तमा विनायक सिद्धका लागि लाक्पा तामाङ एक्लैले ६ गोल गरेका थिए । त्यस्तै आदिल हामिद र सुशन श्रेष्ठले थप एक/एक गोल गरेर आफ्नो टिमलाई उत्कृष्ट नतिजाका लागि सहयोग गरे।

यसैगरी उपविजेता ब्राईट भिजनका लागि निशान रावलले ह्याट्रिक गरेका थिए । प्रतियोगितामा विजेता बनेको विनायक सिद्धले उपाधिसहित नगद ५ लाख जितेको छ । यसैगरी उपविजेता ब्राईट भिजनले ३ लाख नगद हात पारेको छ ।

विधागततर्फ पनि विनायक सिद्धका अभिषेक तामाङ उत्कृष्ट गोलरक्षक बने । त्यसैगरी ब्राईट भिजनका प्रसिद्ध मगरले सर्वाधिक गोलकर्ताको पुरस्कार जिते भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पनि विनायक सिद्धका लाक्पा लामा घोषित भए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय