प्रतिनिधिसभाको बैठक आज बस्दै, नीति तथा कार्यक्रम पारित गर्ने तयारी

काठमाडौं, ११ जेठ ।  प्रतिनिधिसभाको बैठक आज बस्दै छ । विहान ११ बजे बस्‍ने आजको बैठकबाट सरकारको नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ ।

आजको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने सम्भावित कार्यसूची छ । सभामुख देवराज घिमिरेसँगको समन्वयमा राखिएको सम्भावित कार्यसूची यथावत् रहे  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । छलफलमा प्रवेश गरेपश्चात् नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र छलफल गर्ने कार्यसूची पनि छ।

पछिल्लो समय नेपाली काँग्रेसले संसद अवरुद्ध गर्दै आएको छ । केही महत्वपूर्ण विषयहरु भने काँग्रेस सांसदलाई मर्यादापालकको घेराबन्दीमा राखेर अगाडि बढाइएको थियो ।

आजको बैठकमा पनि काँग्रेसले अवरोध पुर्‍याउने सम्भावना रहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय