चेन्नईलाई हराउँदै बेङ्गलुरु आइपिएलको प्लेअफमा

काठमाडौं, ६ जेठ । साविक विजेता चेन्नई सुपर किङ्सलाई हराउँदै रोयल च्यालेन्जर्स बेङ्गलुरु भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको प्लेअफमा छनौट भएको छ । चेन्नईलाई १८ वा बढी रनले हराउनुपर्ने समीकरणमा बेङ्गलुरु २७ रनले विजयी भयो ।
बेङ्गलुरुले दिएको २१९ रनको लक्ष्य पछ्याएको चेन्नईले पूररा २० ओभरमा ७ विकेट गुमाएर १९१ रन मात्र बनाउन सक्यो । रचिन रविन्द्रले सर्वाधिक ६१ रन बनाए । त्यस्तै रविन्द्र जडेजा ४२ रनमा अविजित रहे । अजिन्क्या रहानेले ३३ तथा महेन्द्रसिंह धोनीले २५ रन बनाए ।
बेङ्गलुरुका यश दयालले ४ ओभरमा ४२ रन दिएर २ विकेट लिए । ग्लेन म्याक्सवेल, मोहम्मद सिराज, क्यामरन ग्रीन र लकी फर्गुसनले १ १ विकेट लिए । चेन्नईलाई छनौट हुन अन्तिम ओभरमा १७ रन चाहिएको थियो । पहिलो बलमा धोनीले विशाल छक्का हिर्काए तर दोस्रो बलमा क्याचआउट भए । तेस्रो बल डट रहँदा चौथो बलमा १ रन आयो । रविन्द्र जडेजाले बाँकी दुई बल कनेक्ट गर्न सकेनन् । उनले गतवर्ष फाइनलमा २ बलमा १० रन चाहिँदा छक्का र चौका प्रहार गरी जिताएका थिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बेङ्गलुरुले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २१८ रन बनाएको थियो । कप्तान फाफ डुप्लेसीले सर्वाधिक ५४ तथा विराट कोहलीले ४७ रन बनाए । रजत पाटीदारले ४१ रन बनाउँदा क्यामरन ग्रीन ३८ रनमा नटआउट रहे ।
बेङ्गलुरुले अब इलिमिनेटर खेलमा सनराइजर्स हैदराबाद वा राजस्थान रोयल्समध्ये एक टोलीसँग खेल्ने छ ।

