सन्दीपलाई विश्वकप टोलीमा समावेश गर्न आइसिसीको ‘ग्रिन सिग्नल’

काठमाडौं, ४ जेठ । लेग स्पिनर सन्दीप लामिछानेलाई नेपालको विश्वकप टोलीमा समावेश गर्न आइसिसीले सकारात्मक प्रतिक्रिया दिएसँगै उनले विश्वकप खेल्ने बाटो खुलेको छ ।
बुधबार जजक मुद्दामा पाटन उच्च अदालतले सन्दीपलाई सफाइ दिएलगत्तै नेपाल क्रिकेट संघ क्यानले पनि उनीमाथिको निलम्बन फुकुवा गरेर थप प्रक्रिया अगाडि बढाएको थियो ।
सोही क्रममा आइसिसिका पदाधिकारीसँगको कुराकानीपश्चा्त उताबाट सकारात्मक जवाफ आएको क्यान स्रोतले जनाएको छ । योसँगै अब सन्दीप सम्भवतः शनिबार अमेरिका उड्ने छन् । त्यहाँ पुगेर उनलाई टोलीमा समावेश गर्नेबारेमा थप छलफल हुनेछ ।
प्रशिक्षक मोन्टि देसाई र कप्तान रोहित पौडेलको निर्णयपश्चा्त हालको १५ सदस्यीय विश्वकप टोलीबाट एकजनालाई सन्दीपले प्रतिस्थापन गर्न सक्नेछन् । १५ सदस्यीय टोलीबाट बाहिरिने खेलाडीलाई नेपाल भने फिर्ता बोलाइने छैन । क्यानले आफ्नै खर्चमा उनलाई टोलीसँगै राख्ने जनाएको छ ।
विश्वकपअन्तर्गत नेपालले पहिलो खेल जुन ४ मा नेदरल्यान्ड्ससँग खेल्ने छ । त्यसअघि अमेरिका र क्यानडासँग वार्मअप खेल हुनेछ । वार्मअप खेलअघि सन्दीप टोलीमा समावेश भइसक्ने सम्भावना छ ।

