इलाम-२ मा रास्वपा किन पछारियो ?
इलाम-२ को उपनिर्वाचनमा जित्ने अभियानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अन्तिम मतपरिणाम सार्वजनिक नहुँदै अन्ततः लज्जास्पद हार व्यहोर्नुपर्ने अवस्थामा पुग्यो।
‘जान्नेलाई छान्ने’ भन्दै चुनाव घोषणा भएदेखि नै उम्मेदवार छान्न रास्वपाले धेरै मेहनत गरेको थियो । स्थानीय हुनुपर्ने, युवा अनि समाज बुझेको हुनुपर्ने र जनजाती पृष्ठभुमिको हुनुपर्ने रास्वपाको न्युनतम मापदण्ड थियो। त्यसैका लागि पार्टी नेताहरूको इलाम-२ मा आउजाउ बाक्लिँदै गयो । तर, भनेजस्तो उम्मेदवार ठ्याक्कै पार्टी सदस्य मध्यबाट भेटिएन । अनि रास्वपाले एमाले उपाध्यक्ष स्व. सुवास नेम्वाङकै छोरा सुहाङ नेम्वाङ माथि नजर लगायो। सुवाष नेम्वाङको निधन भएपछि उनकै क्षेत्रमा चुनाव हुन लाग्नु र सुहाङले पनि राजनीतिमा आउने मन गरेको कुरालाई रास्वपाले ‘क्यास’ गर्न खोज्यो तर, सम्भव भएन।
सुभाष पुत्र सुहाङलाई एमालेले नै उम्मेदवार बनाउने भएपछि रास्वपा सभापति रवि लामिछाने सहित शिर्ष नेतृत्व नै उम्मेदवारको खोजिमा निस्कियो। उनीहरुको खोजिमा एउटा यस्तो उम्मेदवार चाहिएको थियो,जसले रास्वपाको सिट संख्या २२ पुर्याओस। ठिक त्यसै समयमा काठमाडौ बसेर पत्रकारिता गर्दै गरेका ३२ बर्षिय ठिटो मिलन लिम्बु (जो इलाम-२ कै स्थानीय हुन्) ले पत्रकारिता पेशा र आवद्ध दल नेकपा माओवादी पार्टी छाडेर इलाम गए। उनी स्वतन्त्र उम्मेदवारी दिएर चुनावमा प्रतिस्पर्धा गर्न चाहन्थे। सोही अनुरुप काठमाडौदेखि धरान हुँदै इलामसम्म पुगेर उम्मेदवारी घोषणा गरे।

इलामको अकबरे उम्मेदवार भनेर स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका मिलनले रास्वपा नेतृत्वको पनि ध्यान खिचे।त्यसपछि उनी रास्वपाको तर्फबाट उम्मेदवार बन्न तयार भए। यतिबेला सम्म इलाम-२ मा पहिचान पक्षधरको तर्फबाट डकेन्द्र सिंह थेगिम र नेकपा एमालेबाट सुभाष नेम्वाङ पुत्र सुहाङ नेम्वाङले उम्मेदवारी दिने पक्का भैसकेको थियो। तर, नेपाली कांग्रेस भित्र उम्मेदवार बनाउने कुरामा चर्काचर्की चल्दै थियो। संस्थापनको तर्फबाट डम्बर खड्का (जो सुभाष नेम्वाङ संग ११४ मतले पराजित थिए) उम्मेदवार बन्न चाहन्थे भने संस्थापन इतर शेखर कोइराला-गगन थापा समुहबाट भेषराज आचार्य दाबेदार थिए। तर,टिकट डम्बरले हात पारे।
रास्वपाले उम्मेदवार बनाउने निश्चित भएपछि मिलनको बोली फेरियो। उनले बिगतमा पहिचान पक्षधरको आन्दोलनमा देखाएको ऐक्यबद्धता र माओवादीमा हुँदा रवि लामिछानेको बिरोध गरेका फेसबुक स्टाटसका कारण आलोचित बन्नुपर्यो। मिलन लिम्बू जिताउन भन्दै रास्वपाले सम्पुर्ण शक्ति इलाम-२ मा लगायो। गृहमन्त्री समेत रहेका केन्द्रिय सभापति रवि लामिछाने सहित सबै पदाधिकारी,मन्त्री,सांसद र केन्द्रिय नेता सहित बाहिरी जिल्लाका नेताकार्यकर्ता इलाम पुगेर मिलनसँग सेल्फी खिचेर फर्किए।
जब चुनाव प्रचारप्रसारको अन्तिम समय तिर रास्वपा नेताहरू इलामको घरदैलोमा पुगे अनि सहकारी काण्ड र पहिचानको मुद्दामा जेलियो। कोशी प्रदेश नामाकरण देखि सहकारी ठगी काण्ड अनि पार्टीको नीति सिद्धान्त र बिचारको प्रश्न तेर्साएर इलामका मतदाताले रास्वपा नेतासँग धारणा मागे। तर,उनीहरुले मतदाताको कुरालाई वेवास्ता गर्दै आफ्नो घमण्ड मात्रै देखाउदै गए। जसको फलस्वरूप जनताले पनि ‘हुन्छ- हुन्छ’ भन्दै भोटमा चाहिँ ‘हुँदैन’ भनिदिए ।
२०७९ मंसिर ४ को निर्वाचनमा ७ सिट प्रत्यक्ष र १३ सिट समानुपातिकबाट जितेपछि रास्वपाले जनताको मन जितेको कुरा सत्य हो। त्यसपछि गृहमन्त्री बनेर सत्तामा गएपछि नागरिकता काण्डले सभापति लामिछाने मन्त्री,पार्टी सभापति र सांसद सबै जिम्मेवारीबाट मुक्त भए। पुनः उपचुनाव लडेर संसद छिरेका रविको स्वभाव अस्वभाविक बदलिन थाल्यो। मिडियालाई गाली गर्नेदेखि अनेकौं फण्डा झिकेर आफू असल अरु सबै खराब भन्ने उनको दैनिकी बन्दै गयो। त्यही बिचमा सहकारी ठगी काण्ड देशव्यापी फैलियो ।
सहकारी ठगी,मिटरब्याजी पिडित र लघुबित्तको कुरा आउँदा पुराना दललाई गाली गर्न तम्सिएका रवि लामिछाने आफै सहकारी मुद्दामा जोडिन पुगे। यद्यपि यसबारे उनले कुनै कुरा पनि ‘थाहा छैन’ भनेर आफुलाइ जोगाइराखेका छन् । तर, उनी मिडियामा हुँदा उनको मिडियाले सहकारीको पैसा अपचलन गरेको देखि उनी स्वयंको खातामा रकम जम्मा भएको कुरा सप्रमाण बाहिर आउँदा पनि उनले त्यसलाई ‘होइन’ भनेर पन्छिरहेका छन् ।
देशका ५ वटा सहकारी त्यो पनि काठमाडौ,पोखरा,बुटवल,बिरगंज र चितवन जस्तो मुख्य शहरमा नाम चलेका र धेरै बचतकर्ता रहेका सहकारी मार्फत करोडौं बचत डुबेको छ। हजारौं बचतकर्ताको बिचल्ली भएको छ। के एउटै व्यक्ति जिबि राइले मात्रै यो ठग्न सम्भव छ वा थियो ? उनी एक्लैले ठगे कि अरु पनि मतियार बने ? गृहमन्त्रीले यसको खोजी गर्नु पर्दैन ? सहकारी ठगीमा उनको संलग्नता छ वा छैन त्यो कुरा सम्बन्धित ब्यक्ति वा सरोकारवालाले जान्ने कुरा हो। तर, प्रश्न उठिसकेपछी जनतालाई स्पष्ट पार्नु असल नेताको कर्तव्य हो। रवि लामिछाने सहकारी ठगिमा छैनन् भनेर प्रधानमन्त्रीदेखि प्रहरी प्रमुखले बोलिसके तर,उनी आफैंले बोल्न किन नसकेको ? यहि कारण संसद अवरुद्ध हुनपुग्यो र अवरोधकै बिचमा संसदको अधिवेशन अन्त्य गरियो।
जनताले पुराना दल र तिनका नेतालाई रुचाएका छैनन् भन्ने जानेका रवि आफैं तिनै दलको सहकार्यमा गृहमन्त्री बन्नु र तिनै नेताको पछि लाग्नुलाई पनि सायद इलाम-२ का मतदाताले रुचाएनन कि ? यसको प्रत्येक्ष असर अहिले इलाम-२मा मिलन लिम्बुलाई परेको देखिए पनि मिसन-०८४ सम्म देशभर यो अवस्था देखिएमा के गर्ने ? रास्वपा नेतृत्वले एकपटक यता पनि समिक्षा गर्ने बेला भएन र ?

