वेस्ट इन्डिज ‘ए’ सँगको दोस्रो टी-२० मा नेपाल पराजित

काठमाडौं, १६ वैशाख । काठमाडौंमा जारी नेपाल र वेस्ट इन्डिज ए बीचको टी२० श्रृंखला अन्तर्गत दोस्रो खेलमा नेपालले हार व्यहोरेको छ । कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल १० रनले पराजित भएको हो ।

वेस्ट इन्डिज ए ले दिएको १६१ रनको लक्ष्य पछ्याएको नेपालले पूरा २० ओभर खेल्दै ९ विकेट गुमाएर १५० रन मात्र बनाउन सक्यो । पहिलो खेलका म्यान अफ दि म्याच समेत रहेका कप्तान रोहित पौडेल ७१ रनमा नटआउट रहेपनि टोलीको हार भने टार्न सकेनन् । गुल्शन झाले २६ तथा लोकेश बमले १७ रन बनाए ।

वेस्ट इन्डिज एका लागि गुडाकेश मोटीले ४ ओभरमा २२ रन दिएर २ विकेट लिए । त्यस्तै ओबेड मेकोएले ४ ओभरमा २४ रन दिएर २ विकेट लिए । ‌ओसेन थोमस र रस्टन चेजले एक-एक विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६० रन बनायो । वेस्ट इन्डिजका लागि कप्तान रस्टन चेजले अर्धशतकीय पारी खेले । चेजले ४६ बलमा ७४ रन बनाएर अन्तिम ओभरमा आउट भए । त्यस्तै अलिक अथानाजेले ४७ रन बनाए । किएसी कार्टीले ३८ रन बनाए ।

नेपालका लागि सागर ढकाल र कुशल भुर्तेलले २-२ विकेट लिँदा सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिएका थिए ।

श्रृंखलाको तेस्रो खेल बुधबार हुने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय