नेपाल र वेस्ट इन्डिज ए बीचको टी२० श्रृंखला आजदेखि

काठमाडौं, १५ वैशाख । नेपाल र वेस्ट इन्डिज ए बीचको टी२० श्रृंखला आजदेखि काठमाडौंमा सुरु हुँदै छ । पाँच खेलको टी२० श्रृंखला अन्तर्गत पहिलो खेल आज दिउँसो सवा १२ बजेदेखि कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुने छ ।
वेस्ट इन्डिज ए को टोलीमा सिनियर राष्ट्रिय टोलीबाट खेलिसकेका धेरै खेलाडी छन् । आउँदै गरेको टी२० विश्वकप क्रिकेटका लागि खेलाडी छनौट गर्ने तरिकाले वेस्ट इन्डिज क्रिकेट बोर्डले अधिकांश सिनियर खेलाडीलाई पनि समावेश गरेर टोली पठाएको छ ।
टोलीमा टी२० विश्वकप खेलिसकेका खेलाडी पनि छन् । टोलीमा समावेश गरिएका आन्द्रे फ्लेचरले वेस्ट इन्डिजका लागि २००९, २०१४, २०१६ र २०२१ को टी२० विश्वकपमा टोलीमा स्थान बनाएका थिए । यस्तै जोनसन चार्ल्सले पनि टी२० विश्वकप खेलिसकेका छन् । फेबियन एलेन, ओसेन थोमस पनि २०२१ को टी२० विश्वकपको टोलीमा परिसकेका खेलाडी हुन् ।
जोनसोन चार्ल्सले वेस्टइन्डिजलाई २०१२ र २०१६ को टी-२० विश्वकपको उपाधि जिताउन महत्वपूर्ण भूमिका प्रदर्शन गरेका थिए । उनको शानदार प्रदर्शनमा वेस्ट इन्डिजले २०१६ को सेमिफाइनलमा भारत र फाइनलमा इंग्ल्यान्डलाई हराएको थियो । समग्रमा वेस्ट इन्डिज ए ले बलियो टोली घोषणा गरेको छ ।
नेपाल र वेस्ट इन्डिज बीच आइतबार दोस्रो खेल हुने छ । त्यस्तै बुधबार तेस्रो, बिहिबार चौथो र शनिबार अन्तिम टी२० खेल हुने छ । यो श्रृंखला नेपालको लागि पनि ऐतिहासिक हुनेछ । यसअघि वेस्ट इन्डिजको कुनै पनि टोली नेपाल आएको छैन । नेपालका लागि चुनौति र अवसर दुवै हुने छ ।
नेपालको टोली: रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, कुशल मल्ल, गुल्शन झा, सन्दीप जोरा, करण केसी, सोमपाल कामी, अविनाश बोहरा, ललित राजवंशी, आकाश चन्द, प्रतिश जिसी, अनिल साह
वेस्ट इन्डिज ए को टोली: रस्टन चेज (कप्तान), एलिक अथानाजे (उपकप्तान), फेबियन एलेन, जोनसोन चार्ल्स, आन्द्रे फ्लेचर, ओबेड मेकोए, किमो पउल, ओसेन थोमस, हेडन वाल्श जुनियर, किएसी कार्टी, जोसुवा बिसोप, कडिम अलिन, मार्क डेयाल, म्याथिउ फोर्डे, गुडाकेश मोटी ।

