२६२ रनको लक्ष्य पछ्याउँदै पञ्जाबको कीर्तिमानी जीत
काठमाडौं, १५ वैशाख । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा पञ्जाब किङ्सले तेस्रो जीत हासिल गरेको छ । शुक्रबार कोलकातामा भएको खेलमा पञ्जाबले घरेलु टोली कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराएको हो ।
कोलकाताले दिएको २६२ रनको विशाल लक्ष्य पञ्जाबले ८ बल बाँकी छँदै केवल २ विकेटको क्षतिमा भेट्टायो । पञ्जाबका लागि ओपनर जोनी बेयरस्टोले शानदार अविजित शतकीय पारी खेले । ४८ बल खेलेका बेयरस्टोले ८ चौका र ९ छक्कासहित १०८ रन बनाए । शशांक सिंह २८ बलमा ६८ रनमा अविजित रहे ।
त्यसअघि प्रभसिमरन सिंह २० बलमा ५४ रन बनाएर रनआउट भएका थिए । राइली रुसो १७ बलमा २६ रन बनाएर क्याच आउट भए । कोलकाताका सुनिल नारायणले ४ ओभरमा २४ रन दिएर १ विकेट लिए । अन्य सबै बलर निकै महँगो साबित भए । नारयणले २४ रन मात्र खर्चँदा अन्य बलरले १४.४ ओभरमा २३६ रन खर्चिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २६१ रन बनाएको थियो । फिलिप साल्टले ७५ तथा सुनिल नारायणले ७१ रन बनाए । वेनकटेश अय्यरले ३९ तथा कप्तान श्रेयस अय्यरले २८ रन बनाए । पञ्जाबका अर्शदीप सिंहले २ विकेट लिँदा साम करान, हर्शल पटेल र राहुल चहरले १-१ विकेट लिए ।
पञ्जाबले यो लक्ष्य पछ्याएसँगै विभिन्न कीर्तिमानहरु बनेका छन् । यो टी२० इतिहासकै सर्वाधिक सफल रन चेज बनेको छ । त्यसैगरी आइपिएलमा पनि सँगसँगै सोही रेकर्ड बनेको छ । यसअघि आइपिएलमा जीत हुने गरेर २२४ रनभन्दा बढी रन सफल तरिकाले पछ्याइएको थिएन ।
यस कीर्तिमानी जितसँगै पञ्जाबको ९ खेलबाट ६ अंक भएको छ र अंकतालिकाको आठौं स्थानमा रहेको छ । हारका बाबजुद ८ खेलबाट १० अंक भएको कोलकाता दोस्रो स्थानमा यथावत् छ ।