पुर्व मन्त्री आलमलाई जन्मकैदको फैसला

काठमाडौं । इट्टाभट्टामा जिउँदै मानिस जलाएको आरोपमा जेलमा रहेका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमसहित ४ जनालाई रौतहट जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ।
२०७६ कात्तिक १८ गते दर्ता भएको मुद्दामा न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले कर्तव्य ज्यानसम्बन्धी कसुर ठहर गर्दै उक्त सजाय सुनाएको हो। यसमा घाइतेलाई इँटा भट्टामा लगेर पोलेको भन्ने अभियोग पुष्टि नहुने फैसला जिल्ला अदालतले गरेको छ।
जिल्ला प्रहरी कार्यालय, रौतहटकी डीएसपी एजिला गिरीका अनुसार, सोही मुद्दामा उनका भाइ मोहम्मद महताब आलमले पनि जन्मकैदको सजाय पाएका छन्। यो सजाय पाउनेमा अर्का अभियुक्त शेख सरोज भन्ने शेख सराज र बद्री सहनी पनि छन्। फरार रहेका ६ जनाको हकमा मुद्दा मुल्तबीमा राख्ने निर्णय अदालतले सुनाएको छ। अभियुक्त फेला परेपछि उनीहरूको हकमा पनि मुद्दा ब्युँतिनेछ। त्यसैगरी अर्का अभियुक्त मुक्ति साहले सफाइ पाएका छन्।
संविधानसभा निर्वाचनताका २०६४ चैत २७ गते रौतहटको साविक राजपुर फरहदवा–४ मा रहेको कांग्रेस उम्मेदवारसमेत रहेका मोहम्मद अफताब आलमको घरमा बम विस्फोट भएको थियो।आलमले चुनाव जित्न भारतबाट बम बनाउने मानिस बोलाएका थिए।
त्रास देखाएर बुथ कब्जा गरी चुनाव जित्ने रणनीतिमा रहेका मोहम्मद आफ्ताब आलमकै घरमा बम बनाउने क्रममा विस्फोट हुँदा पिन्टु भन्ने त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँ घाइते भएका थिए। आफन्तको गोठमा बम बनाउँदै गरेका उनीहरू घाइते भएपछि आफ्नो योजनाको पोल खुल्ने डरले उनीहरूलाई आलमले आफ्नै इँटाभट्टाको चिम्नीमा जलाई मारेको अभियोग थियो।
उक्त घटनाको १२ वर्षपछि २६ असोज २०७६ मा मात्र उनी पक्राउ परेका थिए। उनी अहिले ललितपुरको नक्खु कारागारमा छन् ।उक्त घटनापछि नै उनी रौतहट क्षेत्र नम्बर २ बाट दुईपटक सांसद र एकपटक श्रम तथा यातायात मन्त्री भइसकेका थिए।

