नक्कली शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै पठाउन आदेश

काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने प्रकरणमा थुनामा रहेका पूर्वउपप्रधानमन्त्री तथा एमालेका सचिव टोपबहादुर रायमाझीसहित ७ प्रतिवादीलाई सर्वोच्च अदालतले पनि थुनामै पठाउने आदेश दिएको छ।

यसअघि उनीहरुलाई थुनामै पठाउने भनेर उच्च र जिल्ला अदालतको आदेश थियो। सोही अनुसार सर्वोच्च अदालतले पनि दुबै तहको अदालतको आदेश सदर गरेको हो। तर,काङ्ग्रेस नेता आङटावा शेर्पा सहित २ जनालाई भने थुनामुक्त गर्न आदेश दिएको छ।

सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासले केहीलाई थुनामुक्त गर्ने आदेश गरे पनि पूर्वमन्त्री रायमाझी सहित नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, केशवप्रसाद दुलाल, सन्देश शर्मा, सागर राई, डा. इन्द्रजित राई र सानु भण्डारीलाई थुनामै पठाउने आदेश दिएको छ।

आदेशमा भनिएको छ, ‘प्रतिवादीहरु टेकनारायण पाण्डे, डा. इन्द्रजित राई, टोपबहादुर रायमाझी, केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई र सन्देश शर्माको हकमा हेर्दा निजहरु उपर ठगीको कसुरबाट उठान भएको विभिन्न कसुरमा सजाय पाऊँ भन्ने अभियोग पत्र माग दाबी रहेकोमा प्रतिवादीहरु उपर किटानी जाहेरी रहेको, निजहरु एक अर्कालाई पोल गरी गरेको बयान बेहोरा, पीडितहरुको घटना विवरण कागज समेतका मिसिल संलग्न तत्काल प्राप्त प्रमाणको आधारमा निजहरुलाई मुद्दा पुर्पक्षको लागि मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ बमोजिम थुनामा राख्ने गरी उच्च अदालत पाटनबाट मिति २०८० मंसिर १५ मा भएको आदेश बेरीतको नदेखिँदा परिवर्तन गरिरहन परेन।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय