दयाहाङ र मिरुनाको ‘घरज्वाइँ’

काठमाडौं, १३ वैशाख । मगर समुदायको संस्कृति र संस्कारमा आधारित रहेर निर्माण गरिएको फिल्म ‘घरज्वाइँ’को पोस्टर निर्माण टिमले सार्वजनिक गरेको छ ।
निर्माण टिमले सार्बजनिक गरेको दुईवटा पोस्टरमध्ये एउटामा फिल्मका मुख्य अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर आलुको बोराको भारी बोकेर हिडिरहेका देखिन्छन् । रुकुमको दुर्गम गाउँमा त्यहाँका स्थानीयले भोग्ने गरेको ग्रामीण जीवनको संघर्षलाई पोष्टरले दर्साउँछ ।
दोस्रो पोस्टरमा भने सबै मुख्य कलाकारलाई समेटिएको छ। फिल्मका मुख्य कलाकारहरु दयाहाङ र मिरुनासहित शिशिर वाङ्गदेल, बुद्धि तामाङ, पुष्कर गुरुङ, कविता आले पनि पोष्टरमा अटाएका छन् ।अनिल बुढा मगरले निर्देशन गरेको चलचित्रमा मगर समुदायको संस्कृति र सभ्यतालाई देखाउन खोजिएको छ।
पूर्वी रुकुमको तकसेरा क्षेत्रमा छायांकन भएको ‘घरज्वाइँ’मा निर्देशक मगर स्वयंको कथा छ भने पटकथा तथा संवाद लेखन विनोद खतिवडा र सुभाष कोइरालाको छ ।
फिल्ममा भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, शिला आले, अनु थापा, सुनिल मगर, विवेश बुढा मगर, विना थापा मगर, सोनाम लामा लगायतको पनि अभिनय छ । आगामी असार २८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ ।

