नेपालसँगको टी२० सिरिजका लागि वेस्ट इन्डिज ए को बलियो टोली घोषणा

काठमाडौं, ११ वैशाख । आगामी शनिबारदेखि काठमाडौंमा सुरु हुने नेपाल र वेस्ट इन्डिज ए बीचको टी२० श्रृंखलाका लागि वेस्ट इन्डिज ए को बलियो टोली घोषणा भएको छ । वेस्ट इन्डिज क्रिकेट बोर्डले मङ्गलबार रस्टन चेजको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।

वेस्ट इन्डिज ए को टोलीमा सिनियर राष्ट्रिय टोलीबाट खेलिसकेका धेरै खेलाडी छन् । आउँदै गरेको टी२० विश्‍वकप क्रिकेटका लागि खेलाडी छनौट गर्ने तरिकाले वेस्ट इन्डिज क्रिकेट बोर्डले अधिकांश सिनियर खेलाडीलाई पनि समावेश गरेको हो ।

टोलीमा टी२० विश्‍वकप खेलिसकेका खेलाडी पनि छन् । टोलीमा समावेश गरिएका आन्द्रे फ्लेचरले वेस्ट इन्डिजका लागि २००९, २०१४, २०१६ र २०२१ को टी२० विश्‍वकपमा टोलीमा स्थान बनाएका थिए । यस्तै जोनसन चार्ल्सले पनि टी२० विश्‍वकप खेलिसकेका छन् । फेबियन एलेन, ओसेन थोमस पनि २०२१ को टी२० विश्‍वकपको टोलीमा परिसकेका खेलाडी हुन् ।

जोनसोन चार्ल्सले वेस्टइन्डिजलाई २०१२ र २०१६ को टी-२० विश्वकपको उपाधि जिताउन महत्वपूर्ण भूमिका प्रदर्शन गरेका थिए । उनको शानदार प्रदर्शनमा वेस्ट इन्डिजले २०१६ को सेमिफाइनलमा भारत र फाइनलमा इंग्ल्यान्डलाई हराएको थियो । समग्रमा वेस्ट इन्डिज ए ले बलियो टोली घोषणा गरेको छ ।

नेपाल र वेस्ट इन्डिज बीचमा पाँचवटा टी२० खेल हुने छ । शनिबार १५ गते पहिलो खेल हुने छ भने आइतबार दोस्रो खेल हुने छ । त्यस्तै बुधबार तेस्रो, बिहिबार चौथो र शनिबार अन्तिम टी२० खेल हुने छ ।

यो श्रृंखला नेपालको लागि पनि ऐतिहासिक हुनेछ । यसअघि वेस्ट इन्डिजको कुनै पनि टोली नेपाल आएको छैन । नेपालका लागि चुनौति र अवसर दुवै हुने छ ।

वेस्ट इन्डिज ए को टोली: रस्टन चेज (कप्तान), एलिक अथानाजे (उपकप्तान), फेबियन एलेन, जोनसोन चार्ल्स, आन्द्रे फ्लेचर, ओबेड मेकोए, किमो पउल, ओसेन थोमस, हेडन वाल्श जुनियर, किएसी कार्टी, जोसुवा बिसोप, कडिम अलिन, मार्क डेयाल, म्याथिउ फोर्डे, गुडाकेश मोटी ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय