नेपाललाई हराउँदै हङकङ इमर्जिङ एसिया कपमा छनौट

काठमाडौं, ८ वैशाख । ओमानमा जारी एसिसी प्रिमियर कप क्रिकेटको तेस्रो स्थानको खेलमा नेपाल हङकङसँग पराजित भएको छ । अल अमेरत क्रिकेट मैदानमा भएको खेलमा हङकङले नेपाललाई ४ विकेटले हराउँदै एसिसी इमर्जिङ एसिया कपमा पनि स्थान बनाएको छ ।

नेपालले दिएको १४० रनको लक्ष्य हङकङले ४ बल बाँकी छँदै ६ विकेटको क्षतिमा भेट्टायो । हङकङका लागि अन्शुमन राथले अविजित ६५ रनको योगदान दिए । बाबर हायातले २५ रन बनाए । नेपालका लागि सोमपाल कामीले ३ विकेट लिँदा दीपेन्द्रसि्ह ऐरीले २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३९ रन बनाएको थियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अविजित रहँदै सर्वाधिक ४४ रन बनाएका थिए । नेपाल १०० रन भित्रै ८ विकेट गइसकेको अवस्थामा हुँदा दीपेन्द्रले अन्तिम २ ओभरमा विस्फोटक ब्याटिङ गर्दै नेपाललाई सम्मानजनक स्कोरमा पुर्‍याएका थिए ।

त्यस्तै सन्दीप जोराले २२ तथा कप्तान रोहित पौडेलले २१ रन बनाए । सोमपाल कामी १२ रनमा आउट भए । हङकङका आयुष शुक्लाले ३ ओभरमा १७ रन दिएर ३ विकेट लिए । त्यस्तै अतिक इकबाल, नसरुल्ला राना र एहसान खानले १-१ विकेट लिए ।

नेपाल शुक्रबार भएको सेमिफाइनलमा युएईसँग पराजित भएको थियो । त्यस हारसँगै नेपालको लगातार दोस्रोपटक एसिया कपमा छनौट हुने सपना पनि तुहिएको थियो । आइतबार हुने फाइनल खेलमा ओमान र युएई खेल्दै छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय