चलचित्र ‘बोक्सीको घर’ सेन्सर पास !

काठमाडौं, ८ वैशाख । अभिनेत्री केकी अधिकारीको निर्माण र अभिनय रहेको बहुप्रतिक्षित चलचित्र ‘बोक्सीको घर’ सबै दर्शकलाई हेर्न मिल्ने गरि सेन्सर पास भएको छ।
आगामी शुक्रबार अर्थात् बैशाख १४ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘बोक्सीको घर’ यतिबेला ट्रेलर र ‘बुझिनँ मैले……’ भन्ने गीतका कारण पनि चर्चामा छ । यसको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले फरक शैलीमा प्रचारप्रसार गरिरहेको छ। सेलिब्रेटीहरुलाई फिल्मको नाम अंकित केक कोसेली पठाउने चलचित्रको हलमा ‘बोक्सी हराएको सूचना’भन्दै प्रचार गरिएको छ।
चलचित्र ‘बोक्सीको घर’ले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट सहित प्रदर्शन अनुमति पाएको नायिका एवं निर्मात्री केकी अधिकारीले बताएकी छिन् । बोर्डका पदाधिकारीहरुले फिल्म हेरेपछि यूनिभर्सल सर्टिफिकेट प्रदान गरेका हुन् । अब यो फिल्म सबै उमेर समूहका दर्शकले हेर्न पाउनेछन् । ट्रेलर हेर्दा भने फिल्मले पीजी सर्टिफिकेट पाउने सम्भावना देखिन्थ्यो । यो फिल्मको लम्बाई १ घण्टा ४९ मिनेट ३९ सेकेण्ड मात्रै छ ।
सुलक्षण भारतीको लेखन तथा निर्देशनमा बनेको फिल्ममा केकी अधिकारी, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला, सुलक्षण भारती, श्वेच्छा राउत लगायतको अभिनय छ । केकी स्वयं प्रस्तुतकर्ता रहेको फिल्मको निर्मातामा उनका बुबा बद्री अधिकारी छन् भने राज घिमिरे कार्यकारी निर्माता हुन् । आठ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’माथि आधारित रहेर फिल्म बनेको हो ।

