चेन्‍नईमाथि लखनउको प्रभावशाली जीत

काठमाडौं, ८ वैशाख । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले चौथो जीत निकालेको छ । शुक्रबार भएको खेलमा चेन्‍नई सुपर किङ्सलाई ८ विकेटले हराउँदै लखनउले थप २ अंक जोडेको हो ।

चेन्‍नईले दिएको १७७ रनको लक्ष्य लखनउले एम ओभर बाँकी छँदै २ विकेटको क्षतिमा भेट्टायो । लखनउको जीतमा कप्तान केएल राहुलले ८२ रनको पारी खेले । ५३ बल खेलेका उनले ९ चौका र ३ छक्का हिर्काए । त्यस्तै क्‍विनटन डिककले ५४ रन बनाउँदा निकोलस पूरन २३ र मार्कस स्टोइनिस ८ रनमा अविजित रहे । चेन्‍नईका मुस्तफिजुर रहमान र मथिसा पथिरानाले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्‍नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको थियो । रविन्द्र जडेजाले अविजित ५७ रन बनाए भने अजिन्क्या रहानेले ३६, मोइन अलीले ३० तथा महेन्द्रसिंह धोनीले ९ बलमा अविजित २८ रन बनाएका थिए । लखनउका क्रुनाल पान्ड्याले २ विकेट लिँदा मोहसिन खान, यश ठाकुर, रवि विश्नोइ र मार्कस स्टोइनिसले एक/एक विकेट लिएका थिए ।

यस जीतसँगै लखनउले ७ खेलमा ४ जीतका साथ ८ अंक जोड्दै पाँचौं स्थानमा यथावत् रहेको छ । चेन्‍नईको पनि समान खेलमा समान अंक रहेको छ र तेस्रो स्थानमा रहेको छ ।

आइपिएलमा आज: दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद । समय: बेलुका ७:४५

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय