एसिसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल र युएई खेल्दै

काठमाडौं, ७ वैशाख । ओमानमा जारी एसिसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा आज नेपालले चिरपरिचित प्रतिद्वन्दी युएईको सामना गर्दै छ । खेल ओमानको अल अमेरत क्रिकेट मैदानमा दिउँसो पौने १२ बजेदेखि सुरु हुने छ ।
नेपाल समूह ए को विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको हो भने युएई समूह बी को उपविजेताका रुपमा सेमिफाइनलमा स्थान बनाउन सफल भएको हो । खेलको विजेता टोलीले एसिया कपमा छनौट हुनका लागि ओमान र हङकङमध्ये एकसँग फाइनल खेल्ने छ ।
सन् २०२२ मा यही मैदानमा भएको आइसीसी टि-२० विश्वकप छनोटको सेमिफाइनलमा युएईसँग पराजित हुँदै नेपालको विश्वकप खेल्ने सपना अधुरै रहेको थियो । सन् २०१४ पछि विश्वकप खेल्ने योजनामा रहेको नेपाली टोलीको बाटोमा युएई बाधक बन्न पुग्यो।
यद्यपि सन् २०२३ मा नेपालमै भएको एसिया रिजन फाइनल्समा भने नेपालले युएईलाई ८ विकेटले हराउँदै विश्वकपमा स्थान बनाउन भने सफल रह्यो । नेपाल र युएईबीच टी२० मा पछिल्लो भेट त्यही नै हो ।
टी–२० क्रिकेटमा नेपाल र युएई अहिलेसम्म ९ पटक खेलेकामा नेपाल पाँच खेलमा विजयी रहँदा युएईले चार खेल जितेको छ ।

