एसिसी प्रिमियर कप: समूह चरणको अन्तिम खेलमा नेपालले साउदी अरेबियासँग खेल्दै

काठमाडौं, ५ वैशाख । ओमानमा जारी एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत आफ्नो चौथो खेलमा नेपालले आज साउदी अरेबियासँग खेल्दै छ । खेल मध्यान्ह पौने १२ बजेदेखि अल अमेरत क्रिकेट मैदानमा हुने छ ।

नेपाल यसअघि नै समूहविजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरिसकेको छ । शुक्रबार भएको पहिलो खेलमा नेपालले मलेसियामाथि ५ विकेटको जीत हात पारेको थियो । त्यस्तै शनिबार कतारसँगको खेलमा नेपाल ३२ रनले विजयी भएको थियो भने हङकङलाई ८ विकेटले हराएको थियो । साउदीले पनि हङकङलाई हराएर २ अंक जोडेको छ ।

समूह ए मा रहेको नेपाल ३ खेलमा ६ अंकसहित शीर्षस्थानमा छ । कतारको ४ खेलमा ४ अंक छ र दोस्रो स्थानमा छ तर आजको खेलपछि यो स्थान परिवर्तन हुन सक्नेछ । समान २-२ अंक भएका साउदी अरेबिया, मलेसिया र हङकङ क्रमशः तेस्रो, चौथो र पाँचौं स्थानमा छन् ।

उता समूह बी मा ओमान ३ खेलमा ६ अंकसहित शीर्षस्थानमा छ । कुवेत ३ खेलमा ४ अंकसहित दोस्रोमा रहँदा समान खेलबाट समान अंक भएको युएई नेट रनरेटका आधारमा तेस्रोमा छ । ४ खेलमा २ अंकसहित बहराइन चौथो र ३ खेलमा अंकविहीन कम्बोडिया पुछारमा छ ।

आजको खेलमा ओमान र युएई आ-आफ्ना खेलमा विजयी भएमा दुवै सेमिफाइनलमा प्रवेश गर्नेछन् भने नेपालले सेमिफाइनलमा युएई प्रतिद्वन्दी पाउने छ । कुवेतले ओमानलाई हराएर युएईले कम्बोडियालाई हराएमा अन्य समिकरण बन्‍न सक्छ ।

प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा नेपालसहित हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन् भने समूह बी मा युएई, ओमान, बहराइन, कुवेत र कम्बोडिया छन् । दुई समूहबाट शीर्ष दुई टोलीले सेमिफाइनल खेल्ने छन् । फाइनल खेलको विजेता २०२५ मा हुने एसिया कपका लागि छनौट हुने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय