जस बट्लरको शानदार शतकमा राजस्थानको कीर्तिमानी जीत
काठमाडौं, ५ वैशाख । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा राजस्थान रोयल्सले छैटौं जीत निकाल्दै प्लेअफको सम्भावना बलियो बनाएको छ । मङ्गलबार भएको खेलमा कोलकातामाथि कीर्तिमानी एवम् रोमाञ्चक जीत निकाल्दै राजस्थानले प्लेअफमा स्थान बनाउने सम्भावना थप बलियो बनाएको हो ।
कोलकाताले दिएको २२४ रनको विशाल लक्ष्य राजस्थानले अन्तिम बलमा ८ विकेटको क्षतिमा भेट्टायो । राजस्थानको जीतमा ओपनर ब्याटर जस बट्लरले शानदार शतक प्रहार गरे । उनले ६० बलमा ९ चौका र ६ छक्कासहित १०७ रनको अविजित शतकीय इनिङ खेले । अन्तिम ओभरमा जितका लागि ९ रन चाहिएकोमा उनले पहिलो बलमा छक्का प्रहार गरेपछि लगातार तीन बल डट भएका थिए । पाँचौं बलमा दुई रन जोडेका बट्लरले अन्तिम बलमा एक रन प्रहार गर्दै टोलीलाई जित दिलाए ।
त्यसअघि रियान परागले ३४ रनको योगदान दिँदा रोभमान पावेलले २६ रन बनाए । यशश्वी जैसवालले १९ रन बनाए । कप्तान सन्जु सामसनले १२ रन बनाए । कोलकाताका हर्षित राना, सुनिल नारायण र वरुण चक्रवर्तीले २-२ विकेट लिँदा वैभव अरोराले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २२३ रन बनाएको थियो । ओपनर सुनिल नारायणले करियरको पहिलो शतक प्रहार गरेका थिए । उनले ५६ बलमा १३ चौका र ६ छक्का मद्दतले १०९ रन बनाए । अङ्क्रिश रघुवंशीले ३० तथा रिंकु सिंहले २० रन बनाए । राजस्थानका आवेश खान र कुलदीप सेनले २-२ विकेट लिए भने ट्रेन्ट बोल्ट र युजभेन्द्र चहलले १-१ विकेट हात पारे ।
यो आइपिएल इतिहासमा सर्वाधिक सफल रन चेजको रेकर्ड बराबरी हो अर्थात् आइपिएल इतिहासमा जीतको नतिजा आउनेगरी यति रन दोस्रो इनिङमा अन्य टोलीबाट बनेको छैन । यसअघि २०२० मा राजस्थानले नै पञ्जाबविरुद्ध २२४ रन नै चेज गर्दै जीत निकालेको थियो ।
यस जीतसँगै राजस्थानले ७ खेलमा ६ जीतका साथ १२ अंक जोड्दै शीर्षस्थानमा रहेको छ । कोलकाताको ६ खेलमा ४ जीतसहित ८ अंक रहेको छ र दोस्रो स्थानमा रहेको छ ।
आइपिएलमा आज: गुजरात टाइटन्स र दिल्ली क्यापिटल्स । समय: बेलुका ७:४५