एसिसी प्रिमियर कप: नेपालले हङकङसँग खेल्दै

काठमाडौं, ३ वैशाख । ओमानमा जारी एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले आज हङकङसँग खेल्दै छ । खेल मध्यान्ह पौने १२ बजेदेखि अल अमेरत क्रिकेट मैदानमा हुने छ ।
शुक्रबार भएको पहिलो खेलमा नेपालले मलेसियामाथि ५ विकेटको जीत हात पारेको थियो । त्यस्तै शनिबार कतारसँगको खेलमा नेपाल ३२ रनले विजयी भएको थियो । हङकङ भने पहिलो खेलमा कतारलाई हराएपनि दोस्रो खेलमा साउदी अरेबियासँग पराजित भएको थियो ।
समूह ए मा रहेको नेपाल २ खेलमा ४ अंकसहित शीर्षस्थानमा छ । त्यस्तै समान २-२ अंक भएका साउदी अरेबिया, मलेसिया र हङकङ क्रमशः दोस्रो तेस्रो र चौथो स्थानमा छन् । २ खेलमा अंकविहीन कतार पुछारमा छ ।
प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा नेपालसहित हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन् भने समूह बी मा युएई, ओमान, बहराइन, कुवेत र कम्बोडिया छन् । दुई समूहबाट शीर्ष दुई टोलीले सेमिफाइनल खेल्ने छन् । फाइनल खेलको विजेता २०२५ मा हुने एसिया कपका लागि छनौट हुने छ ।

