‘लाल वादशाह’हरूको नयाँ चटक मन्चन हुँदैछ, अब आँखा खोलौ-डा.बाबुराम भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले ‘लाल वादशाह’ हरूको नयाँ चटकको मन्चन फेरि शुरू भएको बताएका छन् ।

डा.भट्टराईले शुक्रबार दिउसो लेखेका छन् -‘यिनका ‘कम्युनिज्म’ ‘राष्ट्रवाद’ आदि खोलमा बेचिने/बाँडिने ठगीका पुलिन्दाहरूले युगौंदेखि राणा/शाह राजा/महाराजाहरूद्वारा ठगिदै आएका सामान्यजन र वेरोजगार युवाहरूलाई अझै केही समय झुलाउन सक्छ। तर माओले भने झैं ‘बादशाहलाई घोडाबाट खसाल्ने साहस’ नगरेसम्म जनता पूर्ण मुक्त हुने छैनन्!’

उनले भनेका छन् -‘विभिन्न कम्युनिष्ट घटकहरूसंग आवद्ध साथीहरूलाई चोट पुग्न सक्छ! जन्मजात कम्युनिष्ट विरोधीहरूले खुच्चिम भन्न सक्छन्! तर भौतिकवादी द्वन्दवादी चिन्तनप्रणाली अपनाउनेहरूले भावनामा बगेर हैन तथ्यवाट सत्य खोज्ने तरिकाले र देश-कालको सापेक्षतामा विषयवस्तुलाई बुझ्नुपर्छ!’

वर्गविहीन-राज्यविहीन-शोषणविहीन समाजको परिकल्पनाको अर्थमा ‘कम्युनिज्म’ को अवधारणा जन्मेको हो! त्यो अत्यन्त राम्रो र सुन्दर परिकल्पना हो! जसरी प्राचीन युगका चिन्तकहरूले ‘स्वर्ग’ को परिकल्पना गरेका थिए त्यसरी नै आधुनिक औद्योगिक युगका मार्क्स-एंगेल्स लगायतका चिन्तकहरूले कम्युनिज्मको अवधारणा अघि सारेका हुन्।

हाम्रा उहिलेका ऋषिमुनिहरूले तपस्या/ध्यान/कर्मकाण्ड मार्फत अदृश्य ईश्वरलाई रिझाएर मरेपछि ‘स्वर्ग’ पुग्ने कुरा गरेका थिए भने मार्क्स-एंगेल्सहरूले शोषित-उत्पीडितहरूले शोषक-उत्पीडकहरूका विरूद्ध संघर्ष गरेर र राज्य तथा समाजलाई उन्नत ढंगले पुनर्संरचना गरेर यही पृथ्वीमा ‘कम्युनिज्म’ स्थापना गर्न सकिने बताएका थिए।

कम्युनिज्मका परिकल्पनाकारहरूले समाजका सम्पत्तिविहीन र निजी स्वार्थबाट मुक्त तथा अग्रचेतनाले युक्त श्रमिकहरू ( जसलाई ‘सर्वहारा’ भनिएको थियो) को संगठित संघर्षको बलमा पहिले सर्वहारा अधिनायकत्व भएको राज्य स्थापना गर्ने र त्यसले उत्पादक शक्ति र उत्पादन सम्बन्धको निरन्तर विकास गरेर ( जसलाई ‘समाजवाद’ का विभिन्न चरण भनिएको थियो) अन्त्यमा वर्गविहीन-राज्यविहीन अवस्थामा पुग्ने प्रक्षेपण गरेका थिए।

त्यही अवधारणा अनुरूप उन्नाइसौं र मुख्यतः बिसौं शताब्दीमा विभिन्न नाममा श्रमिक वर्गका पार्टीहरू स्थापना भएर अन्ततः कम्युनिज्ममा पुग्ने ध्येय सहित नयाॅ जनवादी /जनताको जनवादी / समाजवादी क्रान्तिहरू भए।

शुरूमा अधिकांश श्रमिक वर्गका पार्टीका नामहरू ‘कम्युनिष्ट पार्टी’ नभएर ‘ लेवर पार्टी’ ‘सोसल डेमोक्राटिक पार्टी’ ‘वर्कर्स पार्टी’ आदि थिए। लेनिनले नेतृत्व गरेको रूसको पार्टीको नाम नै ‘सोसल डेमोक्राटिक लेवर पार्टी अफ रस्सा’ थियो। परन्तु पहिलो विश्वयुद्ध ताका ती अधिकांश पार्टीहरूले सुधारवादी र अवसरवादी बाटो लिए पछि लेनिनको पार्टीले आफ्नो नाम ‘कम्युनिष्ट पार्टी’ राख्यो । त्यसको सिको गर्दै नेपाल र विश्वभरका अधिकांश श्रमिक वर्गीय पार्टीहरूले आफ्नो नाम ‘कम्युनिष्ट पार्टी’ राखे।

अहिले सय बर्ष पछि फर्केर हेर्दा विश्वमा र नेपालमा धेरै पानी, पसिना,रगत बगिसकेको छ।कुनै वेला विश्वका ३६ देशमा भएको एकल कम्युनिष्ट पार्टीको शासन अहिले ५ देशमा ( चीन, उत्तर कोरिया, क्यूवा,भियतनाम,ळाओस) खुम्चिएको छ।

बहुदलीय प्रतिस्पर्धामा राम्रै उपस्थितिमा रहेका ‘युरोकम्युनिष्ट’ ( फ्रान्स, स्पेन, इटली इ.) हरू केही दशक यता हराइरहेछन्! भारतको पश्चिम बंगालमा ३३ बर्षसम्म निर्वाचित सरकार चलाएका कम्युनिष्टहरू अहिले अस्तित्व रक्षामा छन्।

यो सबै विश्व इतिहास र घटनाबाट नेपालका कम्युनिष्टहरूले सिक्नुपर्छ कि पर्दैन? विचार, राजनीति, कार्यक्रम, संगठन,नेतृत्व, आचरण सबै क्षेत्रमा पुनर्विचार गर्नुपर्छ कि पर्दैन? स्टालिनको पालादेखि जनवादी केन्द्रीयताको नाममा पार्टीभित्र मौलाएको नोकरशाहीतन्त्र र अभिजात वर्गकै धर्मसन्तान अहिलेका हाम्रा ‘ लाल वादशाह’ हरू हैनन् र?

एक्काइशौं शताब्दीको चौथो औद्योगिक क्रान्तिको परिवेश, नेपालको दिनहुॅ पेचिलो बन्दै गैरहेको जटील भूराजनीति, पचासौं लाख युवाहरू विदेश पलायन हुन बाध्य पार्ने तन्नम अर्थतन्त्र, रेमिटेन्स र विदेशी ऋणले धानेको राष्ट्रिय ढुकुटीमाथि भैरहेको वेरोकटोक लुछाचुॅडी आदिलाई मध्यनजर गर्दै अब परको ‘कम्युनिज्म’ को मृगमरीचिकामा अल्झनु भन्दा हामीले ठूलो बलिदान पश्चात आफैले बनाएको संविधानले निर्दिष्ट गरेको “ लोकतान्त्रिक मूल्यमान्यतामा आधारित समाजवाद” लाई मार्गनिर्देशक सिद्धान्त मानेर किन अघि नबढ्ने?

‘कम्युनिष्ट’ ब्राण्डमोहमा अल्झिनु भएका साथीहरूलाई हाम्रो विनम्र प्रश्न सहितको आग्रह छ – मार्क्स-लेनिन-माओले समाजवादका विभिन्न चरण पार गरेर मात्रै कम्युनिज्ममा पुग्न सकिन्छ भनेका हैनन्? त्यसो हो भने बहस कस्तो समाजवाद?कसरी समाजवाद? भन्नेतिर केन्द्रित हुनुपर्ने हैन र? अनि हिजो लेनिनले पार्टीको ‘सामाजिक जनवादी’ ब्राण्डनाम अवसरवादीहरूले वदनाम गरे भनेर ‘कम्युनिष्ट’ नाम राखेका थिए तर आज ‘लाल वादशाह’ हरूले ‘कम्युनिष्ट’ नाम नै वदनाम गरिदिएपछि हामीले ‘समाजवादी’ वा यस्तै नयाँ नाम राख्न किन नहुने?

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय