एसिसी प्रिमियर कप आजदेखि, नेपालले मलेसियासँग खेल्दै

काठमाडौं, ३० चैत । ओमानमा आजदेखि एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ । प्रतियोगिताको पहिलो खेलमा साविक विजेता नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दै छ । खेल साँझ सवा ४ बजेदेखि अल अमेरत क्रिकेट मैदानमा हुने छ ।

प्रतियोगिता गतवर्ष एकदिवसीय फर्म्याटमा भएको थियो भने यसपटक टी२० फर्म्याटमा हुँदै छ । अघिल्लो वर्ष नेपालले घरेलु मैदानमै भएको प्रतियोगिता जित्दै एसिया कपमा छनौट भएर भारत र पाकिस्तानसँग खेल्ने मौका प्राप्त गरेको थियो ।

अब २०२५ मा हुने एसिया कप पनि टी२० फर्म्याटमै हुनेछ । नेपालभन्दा अगाडि हङकङ र युएईले चार-चारपटक एसिया कप खेलिसकेको छन् । यस प्रतियोगिताको विजेता टोलीले एसिया कप क्रिकेटमा स्थान बनाउने छ ।

प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा नेपालसहित हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन् भने समूह बी मा युएई, ओमान, बहराइन, कुवेत र कम्बोडिया छन् । दुई समूहबाट शीर्ष दुई टोलीले सेमिफाइनल खेल्ने छन् । फाइनल खेलको विजेता २०२५ मा हुने एसिया कपका लागि छनौट हुने छ ।

आजै अन्य तीन खेलहरु पनि हुनेछन् । ओमान र बहराइन, कुवेत र युएई तथा हङकङ र कतार पनि आमनेसामने हुँदै छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय