एमाले ओखलढुंगाको अध्यक्षमा जीबी खड्का निर्वाचित
काठमाडौं । नेकपा एमाले ओखलढुंगा जिल्लाको अध्यक्षमा युवा नेता जीबी खड्का निर्वाचित भएका छन् ।
बुधबार सम्पन्न दशौं अधिवेशनबाट खड्का निर्वाचित भएको एमालेले जनाएको छ। खड्काले संविधानसभा सदस्य हर्कबोल राईलाई १३ मतले पराजित गर्दै जिल्ला कमिटी अध्यक्षमा निर्वाचित भएका हुन ।
अध्यक्ष निर्वाचित खड्कालाई एमाले स्थायी कमिटी सदस्य एवं पुर्व संचारमन्त्री शेरधन राई र एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाको समर्थन थियो भने पराजित भएका राईलाई एमाले केन्द्रीय सदस्य तथा पुर्व सांसद यज्ञराज सुनुवारको समर्थन थियो।
एमाले ओखलढुंगाका नेता अम्बिरबाबु गुरुङ समेतको समर्थन पाएका खड्काले १४४ मत पाएर बिजयी हुँदा राईले १३१ मत पाएका थिए। दुबैले आ-आफ्ना प्यानल बनाएर निर्वाचन लडेका थिए। खड्का प्यानलका प्रायः सबैले जित्दा राईको प्यानलबाट उपसचिव अस्मिता थापा मात्र निर्वाचित भएकी छन् । ऊनी ओखलढुंगाको लिखु गाउँपालिका उपाध्यक्षसमेत हुन् ।
अधिवेशनको उद्घाटन एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गरेका थिए । मत परिणाम अनुसार अध्यक्षमा जिबी खड्काले १४४ र उपाध्यक्षमा कमल न्यौपानेले १८२ मत पाएर बिजयी हुँदा सचिवमा अशोक थापा १५२ मतका साथ बिजयी भए।
यसैगरी उपसचिवमा अस्मिता थापाले १७४ मतका साथ बिजयी हुँदा अर्का उपसचिव राजीव कटवालले १३८ मत पाएर बिजयी भएका छन् ।