इलाम-२ उपनिर्वाचन : कसले जित्ला ?

काठमाडौं, २९ चैत । इलाम निर्वाचन क्षेत्र नम्बर-२ को उपनिर्वाचन आगामी वैशाख १५ गते हुँदैछ। उपनिर्वाचनको लागी १२ राजनीतिक दल र ८ स्वतन्त्र गरि २० उम्मेदवार चुनावी मैदानमा छन् । संविधानसभाका पुर्व अध्यक्ष एवं पुर्व सभामुख समेत रहेका नेकपा एमालेका उपाध्यक्ष स्व.सुभाषचन्द्र नेम्वाङले लगातार जित्दै आएको सो क्षेत्रमा यसपटक एमालेले उनकै छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ।
नेपाली कांग्रेसले डम्बर खड्का,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मिलन लिम्बु, नेकपा एकीकृत समाजवादीले जित बहादुर राई,जनमत पार्टीले प्रेमबहादुर लिम्बू, नेपाल मजदुर किसान पार्टीले श्यामबहादुर दर्जी, मंगोल नेसनल अर्गनाइजेसनले मनीबहादुर लिम्बू, नेसनल रिपब्लिक नेपालले धनराज रानामगर, राष्ट्रिय प्रजातन्त्र पार्टीले लक्ष्मी गुरुङ,राष्ट्रिय मुक्ति आन्दोलन नेपालले जयवन्तविक्रम साह, राप्रपा नेपालले गणेशबहादुर चौहान, नेपाली जनता दलले रेशमबहादुर सुनारलाई उम्मेदवार बनाएका छन् ।
त्यसैगरी स्वतन्त्रबाट डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार साही, केशवकुमार चापागाईँ, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्यालको पनि इलाम-२मा उम्मेदवारी दर्ता भएको छ। त्यसबाहेक पहिचान पक्षधरको साझा उम्मेदवार बनेर डेकेन्द्र सिंह थेगिमले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनको उम्मेदवारीलाई धेरैले परिपक्व र जित्न सक्ने उम्मेदवार समेत भनेर चर्चा गरिरहेका छन् । उनलाई धरानका मेयर हर्क साङ्पाङले खुलेरै समर्थन गरेका छन् । डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र उपेन्द्र यादव नेतृत्वको जसपाले पनि स्वतन्त्र उम्मेदवार डेकेन्द्रलाई नै मत दिन अपिल गरेका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्का उनै उम्मेदवार हुन् जसले २०७९ मंसिर ४ को निर्वाचनमा सुभाष नेम्वाङसंग जम्मा ११४ मतले पराजित हुनुपरेको थियो। डम्बरले यसपटक ‘बाबुको बदला छोरासंग’ लिने तयारी गरेका छन् । डम्बरले मुख्य प्रतिष्पर्धी पनि सुभाषकै छोरा एमाले उम्मेदवार सुहाङ नै भएको बताएका छन् ।खड्काको चुनावी कमान्डर बनेका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा पनि यसपटक नतिजा आफुतिर आउनेमा ढुक्क देखिन्छन्। त्यसको लागि उनले अर्का महामन्त्री गगन थापालाई समेत इलाम बोलाएर भोट माग्न लगाएका छन् ।
उता कांग्रेस र एमालेले एक अर्कालाई मुख्य प्रतिष्पर्धी मानिरहदा राष्ट्रिय स्वतन्त्र पार्टीले भने यसपटक इलाममा घण्टी बजाउने भनिरहेको छ। रास्वपाका उम्मेदवार मिलन लिम्बुले चुनाव घोषणा भए लगत्तै इलाम पुगेर स्वतन्त्र उम्मेदवारी घोषणा गर्दा नै उनको पक्षमा माहोल बनेको देखेर रास्वपाले मिलनलाई नै पार्टीको आधिकारिक उम्मेदवार बनाएको थियो। जसका लागि पार्टी सभापति रवि लामिछाने सहित उपसभापतिद्वय स्वर्णिम वाग्ले र डिपि अर्याल,महामन्त्री मुकुल ढकाल,सहमहामन्त्री कबिन्द्र बुर्लाकोटी लगायत एक दर्जन केन्द्रिय सदस्य इलाम उतारेको थियो। अहिलेपनी रास्वपाले चुनावी नतिजा जसरी पनि आफ्नो पक्षमा पार्ने भन्दै केन्द्रिय नेतालाई गाउँ गाउँमा खटाएको छ।
त्यसैगरी नेकपा माओवादी केन्द्र र नेपाल परिवार दलको साथ पाएको नेकपा एमालेले भने सुहाङले चुनाव जित्ने कुरामा कुनै शंका नभएको बताउँदै आएको छ। एमाले एक्लैले जितेको क्षेत्रमा अहिले माओवादी समेत थपिदा धेरै मतान्तरले जित्ने एमालेको दाबी छ। यो क्षेत्रमा नेकपा एमालेबाट अलग भएर बनेको नेकपा एकीकृत समाजवादीको पनि छुट्टै उम्मेदवार भएकोमा भने एमाले त्यसको सोधभर्ना कसरी गर्ने भन्नेमा मेहनत लगाइरहेको छ। त्यसका लागि सकेसम्म एकीकृत समाजवादीको उम्मेदवारलाई उम्मेदवारी फिर्ता गर्न लगाउने र नभए उनको पक्षमा जाने मत रोक्ने एमाले नीति छ।
देशभरका १६५ निर्वाचन क्षेत्र मध्य एउटा क्षेत्रमा मात्रै उपनिर्वाचन हुन लागेको कारण पनि हुनसक्छ सबैजसो दलले मुख्य नेतालाई इलाम उतारेको छ। अझै केही नेता इलाम जादैछन। एमालेले पार्टी अध्यक्ष केपी ओली सहित शिर्ष नेतालाई इलाम लगिसकेको छ। अझै एकपटक ओली सहित प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समेत इलाम लैजाने तयारी गरेको छ। कांग्रेसले दुई महामन्त्री इलाम पुर्याइसकेको छ भने पार्टी सभापति शेरबहादुर देउवा,नेता डा.शेखर कोइराला सहित अन्य केही नेतालाई इलाम पुर्याउने गरि कार्यक्रम तयार पारेको छ।
तर,इलाम-२ को चुनावलाई उम्मेदवारको जितहार मात्रै नभएर दलहरूको समेत परिक्षाको रुपमा लिन थालिएको छ। लगातार जित्दै आएको एमाले यसपटक हार्न नहुने दबाबमा छ। उता सधैं हार ब्यहोर्दै आएको कांग्रेसलाई पनि जित्नै पर्ने छ भने रास्वपालाई झन् पुरानो दललाई हराएर इतिहास बनाउने दबाब छदैछ । त्यसैगरी स्वतन्त्र उम्मेदवार डेकेन्द्रलाई नजिताउने हो भने पहिचान पक्षधरको आन्दोलन सकिने र कोशी प्रदेश नामकरण समेत उल्टाउन नसक्ने जोखिम छ।
यसर्थ यसपटक इलाम-२ को उपनिर्वाचनलाई ब्यक्ति भन्दा दलको भिडन्त मानिएको छ। त्यसमा पनि हिजो ३० हजार मत ल्याएर जितेको एमाले होस् वा ११४ मतले हारेको कांग्रेस या स्वतन्त्र उठेर पहिचान जोगाउने जिम्मेवारीको भारी बोक्ने डेकेन्द्र र रास्वपाको इज्जत राख्ने मिलन लिम्बु होस् यसपटक जित्नैपर्ने दबाबमा देखिन्छन् ।

